गोकुल बानिया
पोखरा १ पुष/कास्कीको अर्मलामा जमिन भासिएको घटना अध्ययनको लागि सरकारले गठन गरेको बिशेषज्ञ टोलिले काम थालेको छ । सोमबार पोखरा आईपुगेको टोलिले प्रभाबित क्षेत्रको प्रारम्भिक अबलोकन गरेको स्थानिय विकास अधिकारी ईश्वरराज पौडेलले बताए । प्रकोप अध्ययनको लागि गत मंसिर २४ गते सरकारले बिषेशज्ञ सहितको ७ सदस्यिय समिति गठन गरेको थियो ।
समितिले एक महिना सम्म स्थलगत अध्ययन अनुगमन गरी आबश्यक काम कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ । समितिलाई प्रभाबित क्षेत्रमा तत्काल गर्नुपर्ने रोकथाम एबं अल्पिकरणका उपायहरु सिफारिस गर्न र जोखिमका क्षेत्रहरु पहिचान गरी सो क्षेत्रमा निषेध गर्नुपर्ने कार्यहरुको साथै प्रविधि अध्ययन गरी तत्काल गर्नुपर्ने कार्यहरुको बिस्तृत रुपमा परिक्षण गर्नको लागि सिफारिस गर्न भनिएको छ ।
भूमिगत जल सिंचाई आयोजनाका प्रमुख रमेश गौतमको संयोजकत्वमा गठत समितिमा सिंचाई विभागका डा. राजेन्द्र भण्डारी, बसन्त पौडेल, खानी तथा भुगर्भ बिभागका लिलानाथ रिमाल, कुशलानन्दन पोखरेल, जल उत्पन्न प्रकोप नियन्त्रण बिभागका कमल द्धिबेदी सदस्य रहेका छन् । समितिको सदस्य सचिबमा स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेल छन् ।
बिशेषज्ञ सहितको टोलिले एक महिना सम्म सचिवालयनै स्थापना गरी प्रकोप प्रभाबित क्षेत्रको स्थलगत निरिक्षण गर्नेछ । समितिको सिफारिसको आधारमा सरकारले अर्मलाको प्रकोप ब्यबस्थापनको लागि कार्ययोजना बनाउने बताईएको छ । प्रकोपको प्रारम्भिक अबलोकन पछि बिज्ञले दिएको सुझाबको आधारमा स्थानिय निकायले यसअघिनै प्रभाबित क्षेत्रमा स्थायी भौतिक संरचना निर्माणमा रोक लगाईसकेको छ । प्रकोप रोकथामको लागि स्थानिय निकायको प्रयास निश्प्रभाबि भएपछि जिल्ला दैबि प्रकोप उद्धार समितिले साढे २ करोड लागत स्टिमेट सहित बजेट बिनियोजनको लागि प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको थियो ।
एक महिना बितिसक्दा पनि जमिन भासिने क्रम नरोकिएपछि कास्कीको अर्मलाबासीले २४ घण्टे पूजा समेत लगाएका थिए । अर्मला– १ ठुलीबेशी फाटका ५० भन्दा बढी घरपरिवार प्रकोपबाट पिडित भएको गाबिस सचिब रामचन्द्र पौडेलले बताए । अहिले सम्म करिब ८० भन्दा बढी भ्वाङ परिसकेका छन् । यसअघि डोजर लगाएर पुरिएका भ्वाङको आकार पनि बढ्दै गएको छ । जिल्ला बिकास समितिको सहयोगमा बनाईएको अस्थायी ट्रेन्चबाट पानी बग्न सुरु गरेपनि ट्रेन्चनै भासिने खतरा कायमै छ ।
भूगोल बिद् कृष्ण केसीले स्थानिय खहरे खोला अतिक्रमण गरी बहाब रोक्दा भूमिगत पानीले अहिलेको प्रकोप निम्त्याएको बताएका छन् । भूगर्भबिद्हरुको अध्ययन टोलिले सो क्षेत्रलाई १५ बर्ष अघिनै कमजोर भूबनोट क्षेत्रको रुपमा घोषणा गरी ठुला भौतिक संरचना नबनाउन सुझाब दिएको थियो ।