कास्कीको रुपाकोटमा पाँचतारे रिसोर्ट बन्दै (फोटो फिचर सहित)

८० करोड रुपैयाको लगानी
पहिलो चरणको ८० प्रतिशत काम सम्पन्न

सुरेन्द्र पौडेल
पोखरा, ३० मंसिर/कास्कीको पर्यटकीय क्षेत्र रुपाकोटमा पाँचतारे ‘रुपाकोट रिसोर्ट’को निर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो चरण अन्तर्गत रिसोर्ट निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक एनआरएन पुष्पराज अधिकारीले जानकारी दिए । आगामी ३ महिनाभित्र रिसोर्टले सेवा सुरु गर्ने बताइएको छ । पहिलो चरणमा रिसोर्ट निर्माणका लागि करिव ४० करोड लगानी हुने भएको छ । जसअन्तर्गत हालसम्म रू २५ करोड लगानी भइसकेको अधिकारीले बताए ।

Rupakot resort2पहिलो चरणको काम सम्पन्न भइसकेपछि आगामी वैशाखबाट रिसोर्टमा दोस्रो चरणको काम सुरु हुने भएको छ । दोस्रो चरणको काम सम्पन्न गर्दासम्म रिसोर्टमा करिव ८० करोड लगानी हुने अधिकारीले बताए । २०६९ कात्तिकबाट रिसोर्ट निर्माण सुरु भएको हो । पहिलो चरणमा रिसोर्टमा ४२ ओटा कोठाहरु तयार हुँदैछन् भने दोस्रो चरणसम्ममा १ सय १६ ओटा कोठाहरुबाट निर्माण गरिने गरी गुरुयोजना तयार पारिएको अधिकारीले जानकारी दिए । ‘रिसोर्ट फूलफेसमा सञ्चालनमा आउँदासम्म पाँचतारे रिसोर्टका लागि आवश्यक सम्पूर्ण संरचना तयार पारिन्छ’ अधिकारीले भने ।

२० वर्ष भन्दा बढी पर्यटन क्षेत्रको अनुभव संगालेका अधिकारीले २ सय रोपनी जग्गामा पाँचतारे रिसोर्ट निर्माण सुरु गरेका हुन् । रुपाकोट गाविसमा नै जन्मिएका अधिकारीले आफ्नो जन्मथलोका केही गर्ने सोचका कारण रिसोर्टमा लगानी गरेको बताए । रिसोर्टमा पहिलो चरणको काम सम्पन्न भइसकेपछि ८० जनाले र दोस्रो चरणपछि ३ सय बढीले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । रिसोर्टमा स्थानीयलाई प्राथमिकता दिइने छ । पर्यटकीय सम्भावना बोकेको रुपाकोट–६ मा रिसोर्ट निर्माण भएपछि त्यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।Rupakot Resort

रिसोर्ट निर्माण हुन लागेको स्थानबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ भने सात तालको शहर लेखनाथमा रहेको बेगनास र रुपा तालसमेत स्पष्टसँग नियाल्न सकिन्छ । ‘रिसोर्ट निर्माण सुरु भएदेखि धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छु’ अधिकारीले भने, ‘रिसोर्ट अपेक्षा भन्दा अझ राम्रोसँग सञ्चालन हुने विश्वास गरेको छु । राम्रो सम्भावना भएकाले नै पाँचतारे रिसोर्टमा लगानी गरेको हुँ ।’ रिसोर्ट सञ्चालन गर्नका लागि गोबर ग्याँसबाट बायोग्याँस निकालिने भएको छ । ‘पर्यटकहरुलाई आकर्षण गर्नका लागि ‘अर्गानिक फूड’ खुवाउने भएका छौं’ अधिकारीले भने ।

एनआरएन बेल्जियमका संस्थापकसमेत रहेका अधिकारीकै पहलमा दुइ वर्ष अगाडि रुपाकोटमा बोरिङ्गबाट पानीसमेत निकालिएको छ । रुपाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले विगत ७ वर्षदेखि काठमाडौंमा ‘रुपाकोट टुर्स एण्ड ट्राभल्स’ सञ्चालन गरेका उनले ‘रुपाकोट वल्ड भिलेज’ र ‘रुपाकोट रोज गार्डेन प्रोजक्ट’को अवधारणा अगाडि बढाएका छन् । यसका लागि विभिन्न देशका एनआरएनको लगानी हुने उनले जानकारी दिए । उनले बेल्जियममा समेत रेष्टुराँ सञ्चालन गरिरहेका छन् । अधिकारीले निर्माण गर्न लागेको रुपाकोट रिसोर्ट रोयल ट्रेकको रुटमा पर्छ ।Rupakot Resort1

‘पर्यटक आउँदैनन् भनेर रुपाकोट मानिसहरुले छाडेको ठाउँ हो’ अधिकारीले भने, ‘अहिले रोयल ट्र्ेकका कारण पर्यटकको संख्या बढिरहेको छ, अगामी दिनमा अझ सुधार आउनेछ ।’ विदेशमा काम गरेको अनुभवले रिसोर्ट सञ्चालनका क्रममा आफूले राम्रो सफलता प्राप्त गर्ने अधिकारीको विश्वास छ । रिसोर्ट सञ्चालनमा आएपछि रुपोकाट, छिमेकी गाविस तथा लेखनाथ नगरपालिका, पोखरा र समर्ग कास्की जिल्लाको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने अधिकारी बताउँछन् । लेखनाथको पर्यटन क्षेत्रमा अन्य ठूला लगानी भित्र्याउनका लागि अहिले बन्दै गरेको रिसोर्टले प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

कमेन्टहरु
Loading...