गोकुल बानियाँ
पोखरा २९ मंसिर । पोखरामा क्यान्सर अस्पताल निर्माणको पहल सुरु भएको छ । क्यान्सर रोगीको सुबिधाको लागि देशभर पाच नया क्यान्सर अस्पताल खोल्ने सरकारी योजना अन्तर्गत पोखरामा अस्पताल निर्माणको पहल थालिएको हो । क्यान्सरको क्षेत्रमा काम गर्ने नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको आज पोखरामा आयोजित १३ औं शाखा सभामा बोल्दै संस्थाका केन्द्रिय सह–कोषाध्यक्ष माधब प्रसाद सिग्देलले अस्पताल निर्माणको लागि पहल भैरहेको जानकारी दिए । जापान सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माणको लागि आबश्यक जग्गाको खोजि भैरहेको उनले बताए । अस्पताल स्थापना पछि यस क्षेत्रका क्यान्सर रोगीहरु उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता टर्ने बिश्वास गरिएको छ । अस्पताल निर्माणको लागि पहल भएको लामो समय बितेपनि निर्माण कार्यमा ढिलाई भैरहेको सिग्देलले बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईरालाले अस्पताल निर्माणको लागि अर्बुदरोग निबारण संस्थाले पनि दवाब दिनुपर्ने बताए । पोखराका उद्योगी ब्यबशायी क्यान्सर अस्पताल निर्माणको लागि अन्य निकायसंग हातेमालो गरी अघि बढ्ने उनले बताए । अन्य रोगका सुबिधा सम्पन्न अस्पताल भएपनि पोखरा र यस आसपासका क्षेत्रमा क्यान्सर रोगको सहज उपचारको ब्यबस्था नभएकाले जतिसक्दो चाडो अस्पताल निर्माणमा पहल गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले अस्थिर राजनितिले बिकासे एजेण्डा ओझेल पर्दा स्यास्थ्य क्षेत्रमा पनि त्यसको प्रभाब परेको बताए । निजि अस्पताल आचारसंहित अनुसार नचलेको भन्दै उनले अस्पताललले मनपरी शुल्क असुल्ने प्रबृतिले हरेक रोगको उपचार पद्धति महंगो हुदै गएको उल्लेख गरेका छन् । औषधि, अस्पताल र चिकित्सकको शुल्क मनपरी भएपछि उपचार पनि खर्चिलो बन्दै गएको मुल्मीले बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाले सहज र सर्बसुलभ उपचारको लागि वकालत गर्नुपर्ने खाचो औल्याएका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका अध्यक्ष दिनेश शंकर पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिब रामप्रसाद बस्ताकोटी, पश्चिमाञ्चल क्षेत्रिय संयोजक सुभाष तझ्या, कोषाध्यक्ष रामचन्द्र थापा लगायतले बोलेका थिए । संस्थाले पोखरामा क्यान्सर रोगबाट बच्ने उपायको बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । २०४२ सालमा स्थापित संस्थाको हाल एक सय १२ आजिवन सदस्य छन् भने बितेको एक बर्षमा मात्र बिभिन्न २८ ओटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको संस्थाले जनाएको छ ।