मानवअधिकार दिवसका दिन ५४ जनाद्वारा रक्तदान

पोखरा, २५ मंसिर /६५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रोटरी क्लव अफ पोखरा न्यूरोड, रोट¥याक्ट क्लव अफ मनिपाल पोखरा र रोट¥याक्ट क्लव अफ न्यूरोड पोखराले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रत्नचोकस्थित जनप्रिय बहुमुखी क्याम्पस अगाडि भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका पश्चिमाञ्चल क्षेत्रीय प्रमुख यज्ञप्रसाद अधिकारीले पहिलो रक्तदाता सुनिल तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले जीवनको अधिकार नै सबैभन्दा पहिलो मानवअधिकार भएको बताउनुभयो । उहाँले रक्तदान गरेर कसैको जीवन बँचाउन सकिने भएकोले रक्तदान गर्नु मानव अधिकारको सम्मान भएको बताउनुभयो ।

कार्यक्रममा जोन १७ का सहायक गभर्नर दिनेशशंकर पालिखेले रक्तदान जस्तो सामाजिक कार्य गर्नु प्रशंसनीय भएको बताउँदै आगामी दिनमा पनि यस्तै कार्य गर्न सुझाव दिनुभयो । कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विरञ्जी गौतम, रक्तदान कार्यक्रमका संयोजक सुवोध श्रेष्ठले पनि बोल्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र, पोखराको प्राविधिक सहयोग रहेको थियो । रोटरी क्लव अफ पोखरा न्यूरोडका अध्यक्ष सुवास सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट¥याक्ट क्लव अफ मनिपालका अध्यक्ष सार्थक नेपालले स्वागत र रोट¥याक्ट क्लव अफ न्यूरोड पोखराकी अध्यक्ष नितिका सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...