पोखरामा योमरी महोत्सव हुने

पोखरा, २५ मङ्सिर। पोखरामा पहिलो पटक प्रथम योमरी तथा नेवारी सांस्कृतिक महोत्सव – २०७० हुने भएको छ। योमरी पुर्णिमाको अवसरमा पुष २ गते कुँडहर नेवा पुचः कुँडहर – १३ ले सो महोत्सव गर्न लागेको हो। लोपोन्मुख नेवारी पर्वहरु मध्यको योमरी पुर्णिमाको संरक्षण र प्रवद्र्वन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको प्रचार संयोजक आदर्शमान श्रेष्ठले जानकारी दिए।महोत्सव सम्पन्न गर्नका लागि चन्दनमान श्रेष्ठका संयोजकत्वमा सात सदस्यीय महोत्सव आयोजक समिति गठन गरिएको छ भने पुलेन्द्रमान श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार, आदर्शमान श्रेष्ठको संयोजकत्वमा प्रचार, हेमन्त श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक, महेश श्रेष्ठको संयोजकत्वमा खाना, अर्जुन श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ।
विभिन्न स्वादका योमरी, नेवारी परिकार, वारा, चटामरी, समयबजी, तायःमचा नृत्य, नेवारी नृत्य र गायन महोत्सवको आकर्षण रहने छन्। महोत्सवमा प्रवेशका लागि तीन सय रुपैयाको टिकट व्यवस्था गरिएको छ। सो टिकट खरिद गरेपछि दर्शकले योमरी, वारा, नेवारी खाजा सेट र चटामरीका परिकार प्राप्त गर्न सक्ने आयोजकको भनाई छ। सङख आकारको मैदाको पिठोभित्र खुदो, खुवा र मासु राखेर बनाईने नेवारी परिकारको नाम योमरी हो।
पोखरा – १३ को राधाकृष्ण मन्दिरदेखि पाँच सय मिटर क्षेत्रफलमा सो महोत्सव हुने छ।  महोत्सव सम्पन्न गर्न तीन लाख खर्च लाग्ने र तीन हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ।

कमेन्टहरु
Loading...