पोखरा, २५ मंसिर/रेष्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गरेको ‘१५औं पोखरा सडक महोत्सव’का अवसरमा हेलिकोप्टरबाट पोखरा दृश्यावलोकनको व्यवस्था मिलाइएको छ । त्रिपल ए (एएए) टुर्स एण्ड ट्राभल्स पोखराले सिम्रिक एयरको हेलिकोप्टरबाट पोखरा साइडसिनको व्यवस्था मिलाएको हो ।
रेवानसँग सहकार्य गरेर साइडसिनको व्यवस्था मिलाइएको त्रिपल ए पोखराका प्रवन्ध निर्देशक कृष्ण गिरीले जानकारी दिए । पोखराको स्तरीय पर्यटनलाइ प्रवद्र्धन गर्न हेलिकोप्टरबाट गरिने दृश्यावलोकनले मद्दत गर्ने विश्वास गरिएको छ । आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव सञ्चालन हुँदैछ । महोत्सवका अवसरमा साइडसिन गर्नका लागि करिव ५० जनाले हेलिकोप्टर बुकिङ गरिसकेको गिरीले बताए ।
शान्तिस्तुपा, पञ्चासे, नौंडाँडा, धम्पुस, काहुँखोला, हेम्जा, मणिपाल, काहुँ, सराङ्कोट, फेवाताल लगायत पोखराको दृश्यावलोकन हेलिकोप्टरबाट गर्न सकिने आयोजकको भनाइ छ । ३ हजार ५ सय रुपैयाँ तिरेपछि हेलिकोप्टरबाट सुन्दर नगरी पोखरा आकर्षक दृश्यावलोकन गर्न सकिने ट्राभल्सका म्यानेजर राजेन्धर भण्डारीले बताए । हेलिकोप्टरमा दृश्यावलोकन गर्नका लागि एक पटकमा ६ जना उड्न मिल्ने बताइएको छ ।
त्रिपल एले विगत दुई वर्षदेखि सडक महोत्सवमा पोखरा साइडसिनको व्यवस्था गरेको छ । गत वर्षको महोत्सवमा ४ सय भन्दा बढीले साइडसिन गरेको गिरीले बताए । यस वर्ष ५ सय भन्दा बढीले हेलिकोप्टरबाट पोखरा साइडसिन गर्ने उनको विश्वास छ । महोत्सव सुरु हुने दिन पुस १३ गते शनिबार विद्यार्थीहरुलाई हेलिकोप्टरबाट दृश्यावलोकन गर्दा विशेष छुट प्रदान गरिने गिरीले बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न यो अभियानले सहयोग पुग्ने रेवानका अध्यक्ष गोपी भट्टराईको भनाइ छ ।
‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने नाराका साथ रेवानले प्रत्येक वर्ष सडक महोत्सवका आयोजना गर्ने गरेको छ । रेवानले महोत्सवलाई सफल पार्न तयारी तिब्र पारेकोसमेत अध्यक्ष भट्टराईले बताए । सडक महोत्सवको सफलता पोखराको प्रतिष्ठासँग जोडिएको हुँदा महोत्सव सफल पार्न आ–आफ्नो ठाउँबाट सवैले सहयोग गर्नुपर्ने महोत्सव संयोजक बलराम पहारीको भनाइ छ । यस क्षेत्रको कला, सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पोखरालाई चिनाउन महोत्सव सफल हुने उनले बताए ।