पोखरा, २४ मंसीर/कास्कीको भलाम गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघको सहयोगमा सामुदायिक सञ्चार केन्द्र कास्कीले स्थानीय विकासमा महिला सहभागिता विषयमा सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा गाविसमा क्रियाशील राजनीतिक पार्टी एवं गाविस कार्यालयका तर्फबाट महिला सशक्तीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । महिलाहरुका लागि आवश्यक अभिमूखीकरण एवं तालिमको व्यवस्था गर्ने, हरेक क्षेत्रमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने, दाइजो प्रथा, महिला हिंसा न्यनुनीकरणका लागि आवश्यक पहल गर्ने, कोरम पु¥याउनमात्र नभई अर्थपूर्ण सहभागिता गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको हो ।
प्रतिबद्धतापत्रमा गाविस कार्यालयका तर्फबाट सचिव टिकाराम आचार्य, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका सुर्यबहादुर थापा, एमालेका सूयविलास पौडेल, एकीकृत ने.क.पा.(माओवादी)का योगेन्द्रसिंह थापा, राप्रपा नेपालका रमणबहादुर बस्ने, संघीय समाजवादीका इश्वर बहादुर गुरुङ, अखण्ड नेपालका कृष्णबहादुर कार्की, नवनियुक्त गाविस सचिव कमलबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै सचिव टिकाराम आचार्यले महिलाहरुलाई विकास निर्माण लगायत गाविसबाट सन्चालन हुने अन्य गतिविधिहरुमा सहभागी गराइएको र आगामि दिनमा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरुले पनि महिला स्वयं अधिकारका लागि अग्रसर हुनुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी महिलाहरुले आगामि दिनमा विकास निर्माण लगायतका गतिविधिमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।