भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि सामुहिक पहल आवश्यक

पोखरा, २४ मंसिर/भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि सामुहिक पहल आवश्यक रहेको पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेक पोखरा ,सुशासनका लागि नागरिक समाज र शान्तिका लागि नागरिक समाजको सञ्जालद्वारा आयोजित भ्रष्टाचार न्यूनीकरणका लागि राजनीतिक दलको प्रतिवद्धता र सभासदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आवश्यक नीति निर्माण तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए ।
usasan photoसहभागीहरुले समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज सबैको महत्वपूर्ण भूमिका भएकोले सबैको सहकार्य र सहयोग हुनु पर्ने बताए । स्थानीय निकायमा जनप्रतिनिधिको अभावमा व्यापक भ्रष्टाचार हुने गरेकोले त्यसतर्फ सबैको ध्यान जानु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् यज्ञबहादुर थापाले भ्रष्टाचार न्यूनीकरणको लागि आचरण सुधार्नु पर्नेमा उल्लेख गर्दै सभासद र राजनीतिक दलकोतर्फबाट सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा एमालेका तर्फबाट निर्वाचित सभासद सीता गिरीले भ्रष्टाचार न्यूनीकरणको लागि ऐन, नियम निर्माण गरी कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता गरिन् । नेकपा एमालेका जिल्ला अध्यक्ष मानबहादुर जिसीले आम नागरिक सचेत नभएसम्म ऐन, नियमले मात्र भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने बताए । एनेकपा माओवादीका जिल्ला संयोजक झलकपाणि तिवारीले विभिन्न क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकाले त्यसको न्यूनीकरणका लागि राज्यको ऐन, नियम प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका उपसचिव रामजी शर्मा दनाईले भ्रष्टाचारको बारेमा सबैले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्नेमा जोड दिदै सबैको सहयोग र सहकार्यमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताए ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लोकनाथ गौतमले कानुन र नीति सरकारले बनाउने र कार्यान्वयन गर्ने कर्मचारी भएकोले मन, बचन र कर्मले भ्रष्टाचार न्यूनीकरणको लागि लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले हाकिमी प्रवृत्तिलाई रोकथाम गरी भ्रष्टाचारविरुद्ध गम्भीर भएर प्रतिकार गर्नु पर्ने बताए ।  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले सुशासन र पारदर्शीताको लागि राजनीतिक दल, प्रशासन, कर्मचारीयन्त्र, नागरिक समाज सबैले पहल गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...