पोखरा २० ,मंसिर /राष्ट्रिय परोपकार महासङघ नेपालको आयोजनामा यही मंसिरको २२ गते देखि सुरु हुने श्रीमद भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञ को तयारी समिक्षा बैठक विहीबार सम्पन्न भएको छ । मुल आयोजक समिति सहित बसेको समिक्षा बैठकले जिल्ला, नगर र गाविस स्तरमा अहिले सम्म भएका प्रचार प्रसार लगाएतका सवै कामको समिक्षा गरेको छ । बैठकमा सवै समितिहरुले तयारी अन्तिम चरणमा पु¥याएको जानकारी दिएका महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला, नगर गाऊँ र वडा स्तरका सवै समितिहरुले सवै संघ सस्थाहरुमा पत्राचार, घरदैलो,पम्प्लेटीङ र पोष्टरीङ लगाएतका काम सम्पन्न गरेका छन् । अव केही छिटपुट पत्राचार गर्न बाँकी रहेका ठाऊँमा पनि शुक्रबार मध्यन्न सम्ममा पत्राचार गरि सक्ने र अन्तिम तयारीका बारेमा दिउसो एक बजे पत्रकार सम्मेलन गर्ने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै यज्ञ सुरु हुने दिन २२ गते विहान १०ः००बजे रंगशालाबाट निकालिने बृहत झाँकी सहितको शोभायात्रा लाई भब्य बनाउने बैठकले निर्णय गरेको छ । शोभायात्रा सेती वारी र पारी दुवै क्षेत्र समेटीने गरी पोखराको पृथ्वीचोक, नयाँ बजार , महेन्द्रपुल, रानिपौवा, अमरसिंहचोक हुँदै पुन यज्ञ स्थल रंगशालामै आएर समुद्घाटन कार्य शुभारम्भ हुने थापाले जानकारी दिनुभयो । शोभायात्रामा गाउँ गाऊँ र नगर भित्रका विभिन्न आमा समुह र विभिन्न सामाजिक संघ सस्थाहरुको सहभागिता रहने छ ।
यता यज्ञ स्थल रंगशालामा मञ्च लगाएतका आवश्यक पुर्वाधारहरु निर्माण भइसकेका छन् । परोपकार महासंघका सवै जिल्ला साखाबाट यज्ञको प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको परोपकार महासंघका महासचिव मोहन बहादुर भण्डारीले जानकारी दिनुभयो । मंसिर २९ गते सम्म पोखरा रंङ्गशालमा जारी रहने महायज्ञ असहायका लागि बाल आश्रम, संस्कृति रक्षाका लागि गुरुकुल आश्रम, वातावरण संरक्षणका लागि कल्पवृक्ष अभियान, बृद्धबृद्धाहरुका लागि जेष्ठ नागरिक परोपकार चौतारी, गौरक्षा अभियानहरु चलाएको महासंघले त्यसैको संरक्षण र प्रवर्धन गर्ने उधेश्यले आयोजना गरिएको हो ।
महायज्ञको प्रमुख वाचक महासंघका अध्यक्ष स्वयम भागवत भाष्कर युवा पण्डित गौतमले नै गर्नु हुने छ । सो महायज्ञमा अन्य महायज्ञमा जस्तो निश्चित परिणाममा रकम संकलन गर्ने लक्ष्य भने लिइएको छैन । यद्यपी तन, मन र धनले महायज्ञलाई भरपुर सहयोग गर्न भने सवैलाई परोपकार महासंघले आग्रह गरेको छ । देशका ४५ जिल्लामा आफ्ना शाखा विस्तार गरेको महासङघले ती जिल्लाहरुबाट समेत भक्तजनको उल्लेख्य सहभागिता गराउने अपेक्षा गरेको छ ।