पोखरामा फुड फेष्टिबल जारी

पोखरा, २० मङ्सिर /पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल विहीबार पनि जारी रहेको छ।  पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास
गर्ने उदेश्यले मङ्शिर १३ गतेदेखि आयोजना गरिएको महोत्सव २३ गतेसम्म चल्ने छ ।महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिएको छ । महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहिणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहेको छ ।
विहीबार मात्र झण्डै ११ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजक पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशनका महासचिव एवं प्रचार प्रसार समितिका संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार, महोत्सवमा खानाका परिकारहरुको स्वाद चाख्न, जाडोका लागि लत्ताकपडा किन्न, खाद्यान्न सामाग्री खरिद गर्न, पिङ खेल्न र साङ्गितिक कार्यक्रम हेर्नका लागि दर्शकको घुइचो बढ्दै गइरहेको छ ।
विहीबार दोहोरी गित प्रतिष्ठान तनहुँ र हिमसागर दोहोरी साँझ काठमाण्डौवीचको प्रतियोगितामा हिमसागर दोहोरी साँझ विजयी भएको छ। महोत्सवमा विहीबार गृहिणी नृत्य प्रतियोगिता पनि जारी रहेको छ। प्रतियोगिहरुलाई शुक्रबारदेखि दर्शकले भोटिङ गर्न पाउने छन्। शुक्रबार कलाकारहरु पशुपति शर्मा, प्रजापति पराजुली, तारापति सुवेदी, पार्वती जि.सि, जीवन दाहाल, चोलेन्द्र पौडेल, केशव देवकोटा, घनश्याम रिजाल, ज्योती लोहनी, निशा पोख्रेल, केशव देवकोटा, शिवहरि ढुङ्गानाको प्रस्तुती रहने आयोजकले जनाएको छ।

कमेन्टहरु
Loading...