पोखरा, ११ मंसिर/आदीवासी जनजातिहरुमा बढ्दै गएको लाहुरे प्रथाले शिक्षामा पारेको असरलाई केन्द्रित गर्दै निर्माण गरिएको गुरुङ सँस्कृतिमा आधारित गेट पास फिल्मको पहिलो प्रिमियर शो हङकङमा हुने भएको छ । पर्वतको अर्थरडाडाखर्कबाट आई पोखरा बसोबास गरेका अर्थरवासीहरुको प्रयासमा निर्माण भइरहेको पञ्चकोशी अर्थर डाँडाखर्क समाज भवन सहयोगार्थ हुन लागेको शोका लागि सम्पूर्ण तयारी भइरहेको चलचित्रका निर्माता तथा निर्देशक मनोज गुरुङले जानकारी दिनुभयो ।
अर्थर डाँडाखर्क सहयोग समिति हङकङको आयोजनामा हेनरी जि लुङ कम्युनिटिको हलमा हुने उक्त शोका लागि स्थानिय आयोजकले तयारी तिव्र रुपमा गरिरहेको उहाँले बताउनुभयो । उहाँले आदीवासी जनजातिहरुमा व्याप्त लाहुरे प्रथाले शिक्षामा पारेको असरलाई समेटेर निर्माण गरिएकोले एकपटक सबैले यो फिल्मलाई हेर्नै पर्ने दावी गर्नुभयो ।
निर्देशक गुरुङले हङकङमा पहिलो पटक हुन लागेको प्रिमियर शोका लागि हङकङका विभिन्न व्यक्तिहरुको सहयोग रहेको जानकारी दिनुभयो । फिल्ममा नवनायक सुरज गुरुङ, प्रतिक गुरुङ, र नवनायिका रिना गुरुङ र सोविन गुरुङले डेब्वु गरेका छन् । समन फिल्म प्रोडक्सनको पहिलो प्रस्तुती समेत रहेको गुरुङ सँस्कृतिमा अधारित फिल्ममा एक गीत समावेश गरिएको छ । फिल्मलाई गुरुङ फिल्ममा लामो समय निर्देशकको अनुभव बटुलेका माओत्से गुरुङले छायाँकन र जसु गुरुङले कोरियोग्राफी गर्नुभएको छ ।
