पोखरा, १२ फागुन /गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशहरुसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताउनुभएको छ ।
शनिबार नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गर्नुभयो । साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उहाँको भनाई थियो ।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।
यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक सम्वृद्धिको लागि छिमेकीहरुसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्धारा शनिबार पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारेको गोष्ठीको समुद्घाटन गर्दै उहाँले पर्यटनलगायतका क्षेत्रमा द्धिपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गर्नुभयो ।
यता, सोही कार्यक्रममा बोल्दै नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भए पनि महंगो मूल्यका दाल आयात नगरिएको उहाँको भनाई थियो ।
‘केही वर्षअघिसम्म नेपालबाट बंगलादेशमा दाल निर्यात हुन्थ्यो’उहाँले भन्नुभयो,‘अहिले हामी धेरै टाढाको क्यानडालगायतका मूलुकबाट दाल आयात गर्छौँ, नेपालको दाल महंगो भयो ।’ उहाँका अनुसार बंगलादेशमा नेपाली दालको माग उच्च छ तर महंगो भएकोले आयात रोकिएको छ ।