बीबीए कपको सेमिफाईनलमा शंकरदेव र भक्तपुर, महेन्द्रमोरङ र नेपाल कर्मस क्याम्पस

पोखरा, २३ पुस /आठौं सस्करणको बीबीए कलेजस्तरीय फुटबल प्रतियोगिताको क्र्वाटरफाईनल समीकरण पुराँ हुदाँ शंकरदेव क्याम्पसले भक्तपुर बहुमुखी क्याम्पससँग सेमिफाईनल खेल्ने पक्का भएको छ । अर्को सेमिफाईनल भने विराटनगरको महेन्द्रमोरंग आदर्श बहमुखी क्याम्पसले नेपाल कर्मस क्याम्पससँग मंगलबार खेल्ने छन् ।

जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लेखनथस्थित भण्डारढीक खेलमैदानमा आयोजित फुटबल प्रतियोगितामा आईतबार भएको क्र्वाटरफाईनलमा शंकरदेवले सैनिक महाविद्यालयलाई पराजित गर्दै अन्तिम चार सुरक्षित बनाएको हो । खेलको ४६ औं मिनेटमा योगेश उदासले गरेको गोल निर्णायक बन्दा शंकरदेवलाई सेमिफाईनल प्रवेश गर्ने आधार तयार भयो । पराजित सैनिक महाविद्यालय भने प्रतियोगिताबाट बिदाई लियो । उदासले म्यान अफ दि म्याचको पुरस्कार समेत थापे ।

यसैगरी भक्तपुर बहुमुखी क्याम्पसले पेनाल्टी सुटआउटमा काठमाडौंको के एण्ड के इन्टरनेशनल कलेजलाई ४¬–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान पक्का गर्यो । निर्धारित र थपिएको अतिरिक्त समयमा समेत गोलरहित टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो प्रतियोगिताका संयोजक पारस पोखरेलले बताए ।

भक्तपुरका गोलकिपर अनिष थापाले के एण्ड के इन्टरनेनशलका सुभम शर्मा न्यौपानेको प्रहारलाई बचाउ गरेपछि जितको खुशीयाली मनायो । सुशान्त श्रेष्ठको प्रहार समेत खेर गएपछि के एण्ड केको हार निश्चित बन्यो । आकाश लिम्बु र मदन चेम्जोङको पेनाल्टी गोलमा परिणत भएपनि जितको सम्भावना नजिक पुग्न सकेन् । भक्तपुर बहुमुखी क्याम्पसका लागि रविन डंगोल, भाया श्रेष्ठ, प्रणव देउजा र विवेक भण्डारीको पेनाल्टी गोलमा परिणत भएको थियो । अनिष थापा खेलमा म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम क्र्वाटरफाईनल खेलमा महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले प्राईम कलेजलाई ४–१ फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । आईतबार भएको अन्तिम प्रतिस्पर्धामा प्रशेष नेपालले ६ र ४५ औ मिनेटमा गोल गरेका थिए । म्यान अफ दि म्याच रोशन तामाङले पनि व्यक्तिगत दुई गोल गरे । उनले ११ र ५७ औं मिनेटमा गोल गरेका थिए । प्राईमको तर्फबाट २६ औं मिनेटमा समिप भट्टराईले गोल गरे । जुन सान्त्वना मात्रै बन्न पुग्यो ।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बीबीए पठान पाठन गराउने नेपालका १७ वटा क्याम्पसहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पोखराको जनप्रिय बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसको सहभागिता रहेको छ । भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, के एण्ड के इन्टरनेशनल कलेज काठमाडौं, कान्तिपुर कलेज अफ म्यानेमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी, काठमाडौं, काथफोर्ड इन्टरनेशनल कलेज काठमाडौं, महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस विराटनगर, नेपाल कर्मस क्याम्पस काठमाडौं, पिपुल्स क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, प्राईम क्याम्पस काठमाडौं, पब्लिक युथ क्याम्पस काठमाडौं, सैनिक आवासिय महाविद्यालय भक्तपुर, शंकरदेव क्याम्पस काठमाडौं, पाटन बहुमुखी क्याम्पस ललितपुर, बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, महेन्द्र बहुखुी क्याम्पस धरान र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेता क्याम्पसले नगद ३५ हजारसहित नगद पाउने छ । उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेन्स, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपरलाई ट्रफी, अनुशासित टिमलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...