पोखरा । सोमबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको डबल्स तर्फको उदघाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे ।
पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङ(२९)लाई २१–१६, २१–११ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । त्यस्तै राजेन्द्र गुरुङ र गुमानसिंह गुरुङ(७)ले जघन घले र दुक्तमान गुरुङ(८)लाई २१–९, २१–१२ को सेटमा पन्छाए । ओम थापा र हेमन्त राई(६)ले विकास गुरुङ र अर्जुन गिरी(१७)को जोडीलाई २१–१८, २१–१८ को सेटमा पराजित गरेका थिए ।
दिनेश श्रेष्ठ र रवि थापा(१६)को जोडीले बलबहादुर श्रीस र प्रितम गुरुङ(२९)को जोडीलाई २१–१९, २१–१६ को सेटमा पराजित गरे । सन्तोष गुरुङ र अमृत गुरुङ(२९)ले पदम जिसी र दयाराम पन्त(१२)को जोडीलाई २२–२०, ७–२१ र २१–३ को सेटमा पराजित गर्न सफल भए । महिला एकल तर्फ नमूना खड्का(१६)ले स्वीकृति उदास(३)लाई २१–१७, २१–१० को सेटमा पन्छाउँदा अर्को खेलमा अनिता गुरुङ(७)ले सृष्टिका उदास(३)लाई २१–३, २१–५ को सेटमा पराजित गरिन् ।
प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले गरेका थिए । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली लगायतले खेलकुदको चर्चा गरेका थिए ।
प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना अनुसार अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन आउटडोर कोर्ट निर्माण गरिएको छ ।
महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का अनुसार प्रतियोगिता अन्तर्गत चार इभेण्टमा १४० जना खेलाडी कोर्टमा उत्रिएका छन् । पुरुष एकल, पुरुष डबल्स, महिला एकल र महिला डबल्स इभेण्टमा प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक भुगोल गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने छ । च्याम्पियन बन्ने वडालाई ट्रफी प्रदान गरिने छ ।