चितवन । पूर्वराज्यमन्त्री, संविधानसभा सदस्य शेषनाथ अधिकारीले गएका दुई वर्ष रोकिएको चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन् । जनआन्दोलन विसं २०६२-६३ को सफलतासँगै उनले हरेक वर्ष दसैँमा चियापान समारोह गर्दै आएकामा यस वर्ष सोमबार कार्यक्रम गरिएको हो ।
गत वर्ष कोभिडका कारण र अघिल्लो वर्ष दाजु बितेका कारण अधिकारीले चियापान समारोह गरेका थिएनन्। नेपाली कांग्रेस चितवनका पूर्वसभापति अधिकारीले हरेक वर्षको दसैँको द्वादशीको दिन दिउँसो २ बजे आफ्नै निवास रत्ननगर नगरपालिका–३ अस्पताल रोडमा चियापान समारोह गर्ने गर्छन् । यस वर्ष प्राविधिक कारणले त्रयोदशीका दिन चियापान समारोह गरिएको उनले बताए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापतिलगाएत जिल्लाका कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
अधिकारीका अनुसार कार्यक्रममा ५५० भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएर शुभकामना आदानप्रदान गरेका थिए । “एकापसमा शुभकामना आदानप्रदानको थलोका रुपमा चियापानलाई सबैले लिने गरेका छन् ।” कार्यक्रममा भाषण नहुने हुँदा एकापसमा शुभकामना आदानप्रदान नै मुख्य हुने गर्दछ ।