कांग्रेस महामन्त्री कोइरालाद्धारा सभापतिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।

“गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु”, महामन्त्री डा कोइरालाले भने, “सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।” उनले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा समेत जोड दिएका थिए ।

देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने समेत घोषणा गरे । यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको बताए ।

“नवलपुरको विकासका लागि मैले सारेका तीन वटा कुरामध्ये बीपी अन्तर्राष्ट्रिय खेल मैदान र ट्रमा सेन्टरको काम अघि बढिसकेको छ”, डा कोइरालाले भने, “नारायणी नदीमा वैकल्पिक मार्गका लागि काम अगाडि बढाउँदैछु, त्यसले चाँडै नै मूर्तरूप लिनेछ ।”

कमेन्टहरु
Loading...