गुटबन्दीभन्दा पनि योग्यता र दक्षता प्राथमिकतामा: मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले गुटबन्दीभन्दा पनि योग्यता र दक्षताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशनको आज आयोजित उद्घाटन समारोहमा उनले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई आग्रह गरे ।

गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताका आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिँदै उनले पार्टी सङ्गठनलाई सशक्त बनाएर लैजान सक्ने नेतृत्व आवश्यक भएको बताए।

पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा एक महिलासहित छ जनाको सभापतिमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए। उनका अनुसार समितिको पदाधिकारी चयनका लागि हुने निर्वाचनका लागि कुल मतदाता एक हजार ३७० मतदाता छन् ।

महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गङ्गाधर पराजुली र ज्योति हमालले उम्मेदवारी दिएका छन् ।

यसैबीच महानगरमा सभापतिको उम्मेदवारी दिएका गङ्गाधर पराजुलीले आज पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई सबैले भरोसा गर्ने पार्टीका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

लामो समय पत्रकारिता क्षेत्रमा बिताउनुभएका पराजुलीले यसअघि नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनको केन्द्रीय उपसभापतिका साथै रासस सञ्चालक समितिको सदस्य एवं न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी सम्हालेका छन् ।

कमेन्टहरु
Loading...