शहरका कथालाई फिल्ममा उतार्ने
पोखरा, २१ माघ/फलानो क्रियशन पोखराले १२ वटा ‘टेलिभिजन फिल्म’ निर्माणको घोषणा गरेको छ । पोखरास्थित गण्डकी टेलिभिजनमार्फत प्रशारण हुने गरि टेलिभिजन फिल्म निर्माण गर्न लागेको उसले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । १२ वटै टिभी फिल्मलाई संचारकर्मीसमेत रहेका अपिल त्रिपाठीले निर्देशन गर्दैछन् ।

१२ वटा फिल्मलाई निर्माण युनिटले हप्ताको एउटा गर्दै प्रशारणमा ल्याउने जानकारी दिएको छ । सिरियल जसरी प्रशारण गरिने भएपनि यो सिरियलभन्दा फरक प्रकृतिको फिल्म हुने निर्देशक त्रिपाठीले जानकारी दिए । ‘हामीले हरेक हप्ता छुट्टाछुट्टै कथा भएको छोटो फिल्मलाई प्रशारण गर्नेछौँ ।’ त्रिपाठीले भने–‘त्यसैले यो सिरियल जस्तो एउटै कथामा बगेको हुँदैन ।’
निर्माणपक्षले १२ वटै छोटो टिभि फिल्मलाई एउटै नाम दिएको छ । फिल्मको नाम हो ‘शहर’ । सबै फिल्मलाई पोखरामै छायाँकन गरिने उसले जानकारी दिएको छ । छुट्टाछुट्टै हप्ता देखाईने फिल्ममा शहरका विभिन्न पक्षहरुलाई समेटिने निर्माणपक्षले जनाएको छ । ‘पोखरा शहरमा देखिएका केहि फिल्मी शैलीका घटनाहरु र पोखरा शहरको व्यवसायिक तथा सामाजिक जीवन नै टिभी फिल्मको विषयवस्तु हुनेछ ।’ निर्माणपक्षले भनेको छ ।
निर्देशन त्रिपाठीकै लेखन रहेको टिभी फिल्महरुमा फलानो क्रियशन र व्यवसायि ङुटुक गुरुङको संयुक्त लगानी रहेको छ । सरोज अधिकारीको छाँयाकन रहने सम्पुर्ण फिल्महरुलाई सुबास अम्गाँईले सम्पादन गर्नेछन् । फिल्मका लागि कलाकारहरु छनौट हुन बाँकि नै रहेको निर्माणपक्षले बताएको छ ।