परासी, २० माघ/नवलपरासीको बेनीमणिपुर गाविस–२ ढुडेमा आफ्नै बाबुले छोरीको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनानसठ्ठी वर्षका कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मीसिंह ठकुरीको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो । छोरी लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखिएपछि गाउँलेले प्रहरीमा उजुरी दिएका र उजुरीपछि उनलाई खोज्ने क्रममा बाबुले नै हत्या गरेको रहस्य खुलेको हो ।
करिब नौ महिनादेखि माइतीमै बस्दै आएकी छोरी र बुबाबीच घर नगई माइतमा बसेको भन्ने विषयमा पटकपटक विवाद हुने गरेको र गत माघ १६ गतेपछि सोही विषयमा विवाद हुँदा दुईबीच कुटाकुट भएको थियो । सोही क्रममा बाबुले छोरीको हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए । बुबा सापकोटाले छोरीको हत्या गरी घर नजिकै खाडल खनेर पुरेको समेत खुल्न आएको छ । सापकोटाले झगडा हुने क्रममा पिट्दा घरको धुरीखाँबोमा ठोक्किएर छोरीको मृत्यु भएको र मृत्युपछि आफैँले जमिनमुनि गाडेको प्रहरीसामु बयान दिएका अधिकारीले बताए ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ । सापकोटाले माघ १६ गते हत्या गरेको बुझिएको छ । उनका अनुसार तीन दिनसम्म लक्ष्मी नदेखेपछि स्थानीय जनताले शङ्काको आधारमा आइतबार प्रहरीमा उजुरी गरेपछि बुबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । पुरिएको स्थानबाट शव निकाल्न र आवश्यक अनुसन्धान थाल्न इलाका प्रहरी कार्यालय कावासोती र दुम्किवासको टोली घटनास्थल पुगेको छ । रासस