पोखरा, १५ माघ/उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठानको १३ औं वार्षिकोत्सव तथा विद्यार्थी पुरस्कार वितरण एवं सम्मान कार्यक्रम शुक्रवार बुटवलमा हुने भएको छ । सन १९९९ मा जापानमा स्थापना भई विक्रम सम्वत २०५८ सालमा कास्की जिल्ला प्रसासनमा दर्ता गरिएको यस संस्थाले नेपालभरमा सर्वोत्कृष्ट अकं प्राप्त गरेका दुई जना नीजि र दुइ जना सामुदायिक विद्यालयबाट उतिर्ण विद्यार्थीलाई जनही १५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक तर्फका सिन्धुलीका अविशा तमु र तनहुँका करण तमु रहनुभएकोछ भने नीजि तर्फ चितवनका दीपा तमु र भक्तपुरका विकास तमु रहनुभएको छ ।
बुटवलस्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको सभाहलमा हुने कार्यक्रममा पार्वता तमु स्मृति पुरस्कारबाट समाजसेवी रुपन्देहीका क्याप्टेन टेकबहादुर तमु, तमु भाषा÷साहित्यमा विशेष योगदान वापत धनबहादुर तमु स्मृति पुरस्कारबाट तनहुँका अमर तमु, लालशोभा तमु उत्कृष्ट आमा पुरस्कारबाट स्याङ्जाकी सुधा तमु र तमु साँस्कृतिक प्रतिष्ठान पुरस्कारबाट स्याङ्जाका मनी तमु पुरस्कृत गरिने तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा मावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको प्रतिष्ठानले २०७१ सालका लागि छात्रवृत्ति प्राप्त गर्ने १५ जना विद्यार्थीहरुको नामावली पनि सार्वजनिक गरेको छ । प्रतिष्ठानको ५२ जना संस्थापक सदस्य, १२१ जना आजीवन र २ जना मानार्थ सदस्य रहेको छ भने प्रतिष्ठानले एसएलसी सर्वोत्कृष्ठ ४८ जना विद्यार्थीलाई पुरस्कृत, मावि तहमा अध्ययनरता ६७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान र १५ जना तमु विशिष्ट व्यक्तित्वलाई सम्मान एवं अभिनन्दन गरिसकेको प्रतिष्ठानका अध्यक्ष झम तमुले जानकारी दिनुभयो ।