पोखरा, १४ माघ/आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला काठमाडौमा सम्मानित भएका छन् ।जनआन्दोलनका घाइतेको विषयमा निरन्तर आवाज उठाएर सहयोग गरेको भन्दै शहीद तथा घाइते सरोकार नागरिक समन्वय समिति एवं जनआन्दोलन २०६२÷०६३ शहीद परिवार तथा घाइते सरोकार समितिले स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका बास्तोलालाई सम्मान गरेको हो ।
यसैगरी बास्तोलासहित सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका दीपक समीर, कान्तिपुर दैनिकका घनश्याम खड्का, इमेज न्युज एफएमका सोमप्रसाद पोखरेल, न्युज २४ का प्रेम बानियाँ, सगरमाथा टीभीका गणेशमान गुरुङ र बिमलराज भण्डारी, काठमाडौ पोष्टका समिक खरेल, उज्यालो नाइण्टी नेटवर्कका मिलन तिमिल्सिना र इन्द्रप्रसाद लोहनी (मरणोपरान्त) छन् । कार्यक्रमका प्रमुख अतिथि न्यायपरिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपानेले सोमबार एक समारोहबीच उनीहरुलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा शहीद तथा घाइते सरोकार नागरिक समन्वय समितिका संयोजक मेघराज आचार्यले संविधानसभामा घाइते परिवारबाट प्रतिनिधित्व हुन नसकेको भन्दै मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ सिटमध्ये एक सिट भए पनि घाइते परिवारका सदस्यलाई प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । जनआन्दोलन शहीद परिवार तथा घाइते सरोकार समितिका कार्यबाहक अध्यक्ष मीरा कायस्थले आजको परिवर्तन ल्याउनुमा घाइते परिवारको योगदान रहेको बताइन् । उनले संविधान निर्माणमा घाइते परिवारको सहभागिता हुन नसके अधिकारबाट वञ्चित हुने आशङ्का रहेको बताइन् ।