रेम बिक
पोखरा, १४ माघ/बढ्दो बेरोजगारी न्यूनिकरण गर्ने उद्देश्यस्वरुप रोजगार कोष हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले निशुल्क रोजगारी एवं उद्यमशिलता तालिम गर्ने भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर तालिमको बारेमा जानकारी दिएको हो । उसले बताएअनुसार केहि दिनमै तालिम संचालन हुनेछ ।
‘जनवरी महिनामै तालिम हुनुपर्ने हो तर केहि प्राविधिक कारणले गर्दा यो पटक हामीले तालिम ढिला गरि शुरु गर्दैछौँ ।’ रोजगार कोषका टिम लिडर बलराम पौडेलले भने–‘पोखरामा तालिमका लागि तीन वटा ट्रेनिङ ईन्स्टिच्युटसंग सहकार्य भैसकेको छ ।’ सन् २०१४ मा १२ हजार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित संस्थाले तालिम संचालनमा ल्याउन लागेको हो ।
अति विपन्न तथा विशेष अवस्था भएका युवाहरुका लागि कार्यक्रम लक्षित रहेको संस्थाले जानकारी दिएको छ । अपाङ्गता भएका, एचआईभी संक्रमित, सडक तथा अनाथ बालबालिका, हिंसामा परेका महिला, कैदी तथा पुर्व कैदीहरुलाई तालिममा विशेष ग्राह्यता दिईने उसले बताएको छ । ३ महिना प्राविधिक तालिम र एक महिना व्यवस्थापकिय तालिम गरि चार महिनासम्म दिईने तालिममा विशेषगरि वेल्डिङ, प्लम्बिङ, टेलरिङ जस्ता ७० भन्दा बढि विषय सिकाईन्छ । संस्थाले देशभरि ३९ वटा ईन्स्टिच्युटहरुसंग सहकार्य गरेर तालिम संचालन गर्दै आएको छ ।
रोजगार कोषले २०१३ सम्ममा ७० हजार भन्दा बढि युवाहरुलाई तालिम दिएर स्वरोजगार बन्न सघाएको दाबी गरेको छ । सन् २००७ मा स्थापना भएको संस्थाले तालिम दिएका युवाहरुमध्ये ७० प्रतिशतभन्दा बढि तालिम लिएर विदेशिएका छन् भने ३० प्रतिशत नेपालमै बसेर विभिन्न उद्यमशिलतामा लागेका छन् ।
‘युवाहरुलाई उद्यमशिल बनाउन प्रेरित गर्ने संस्थाको उद्देश्य निकै प्रशंसनीय छ ।’ पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईरालाले भने–‘हामी पनि संस्थाले गरेको कामलाई सघाउन पुर्ण रुपमा प्रतिबद्ध छौँ ।’ तालिम लिएर उद्यमशिलतामा लागेका युवाहरुले अरु युवाहरुलाई पनि उद्यमशिलताप्रति प्रेरणा दिनुपर्नेमा उनले जोड दिए ।
संस्थाले रोजगारी र उद्यमशिलताको बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले चालु औद्योगिक व्यापार मेलामा १० वटा स्टल समेत राखेको छ । उसले मेला अवलोकन गर्न आउनेहरुलाई उद्यमशिलता र रोजगारीको बारेमा जानकारी गराउँदै आएको छ ।