पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता सुरु, ओपन रिकभतर्फ टिम इभेण्ट्मा बारा आर्चरी क्लब प्रथम

पोखरा, ९ माघ/प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपअन्तर्गत पोखरामा बिहीबारदेखि पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ । नेपाल आर्चरी संघ नेपालको आयोजना तथा नेपाल आर्चरी संघ कास्कीको संयोजनमा सुरु प्रतियोगितामा देशका विभिन्न ११ जिल्लाका ६५ जना खेलाडी सहभागी छन् । खेलाडीहरुमा पूर्व सोलुखुम्बुदेखि पश्चिम कञ्चनपुरसम्म प्रतिनिधित्व छ । सबैभन्दा ज्येष्ठ बलराम राई (५०) र कम उमेरका सौजन्य गुरुङ (१४) सहभागी छन् ।प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउने खेल आर्चरी भएको बताए । छोटो समयमा यो खेलको विकास भएको भन्दै उनले सरकारले पनि यसमा विशेष चासो दिनुपर्नेमा जोड दिए । उनले धनुषवाण प्रहार खेल प्रतियोगिताको औपचारिक उद्घाटन गरे । समारोहमा संघका अध्यक्ष हरिध्वज तुलाचन, प्रतियोगिता संयोजक बसन्त थकाली, सचिव रमेश शिवाकोटी, पूर्वाञ्चल सेवा समाजका अध्यक्ष दीपेन राई, थकाली सेवा समितिका अध्यक्ष अमर तुलाचन, पश्चिमाञ्चल खेलकुद विकास समितिका कर्मचारी ड्यामबहादुर बस्नेतलगायतले बोलेका थिए ।

सो अवसरमा आगामी अक्टोबरमा चीनको नान्जिनमा हुने युथ ओलम्पिकमा यु–१७ बाट छनौटमा परेकी पोखराकी आर्चरी खेलाडी रश्मी दर्लामीलाई सम्मानस्वरुप एकथान धनुष र खेलको विकासमा सहयोग पु¥याएको भन्दै मीनबहादुर शेरचनलाई सम्मानपत्र प्रदान गरियो ।
खुला र स्टाडण्र्ड रिकभ गरी दुई क्याटगोरीमा हुने प्रतियोगितामा स्टाण्डर्ड रिकभमा थ्रिपिस बेम्बोको धनु तथा टेनिङबोबाट खेलाइनेछ भने खुला रिकभमा आधुनिक मेटलको धनु प्रयोग गरिने प्रतियोगिता संयोजक बसन्त थकालीले बताए । उनले खुला र स्टाण्डर्ड इभेण्टतर्फ महिला एकल, पुरुष एकल, पुरुष समूह, महिला समूह र मिक्स टीम गरी पाँच÷पाँच इभेन्ट्स रहने बताए ।

विजयी टीम तथा खेलाडीलाई पुरस्कारस्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई कोरियाको इन्सोन सहरमा आगामी अगष्टमा हुने एशियन गेमको लागि छनौट गरिने प्राविधिक संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । क्लोज क्याम्पका लागि यो प्रतियोगिताबाट महिला÷पुरुषतर्फ आठ÷आठ जना छनौट गरी अन्तिममा चार÷चार जना एशियन गेममा पठाइने जनाइएको छ । प्रतियोगिता संचालन गर्न २० लाख ३३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले चार लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम उद्योगी, व्यवसायी, आर्चरी खेलका शुभचिन्तक तथा अन्य स्थानीय
संघसंस्थाबाट सहयोग भएको संघका केन्द्रीय महासचिव दीपक गुरुङले बताए ।

विशेषगरी आदिवासी जनजातिको खेल भनेर चिनिने आर्चरीमा पछिल्लो सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी संघले गतिविधि अघि बढाएको केन्द्रीय सचिव रमेश शिवाकोटीले बताए । ओलम्पिक कमिटीको पहलमा आर्चरीसहित बक्सिङ, एथलेटिक्स र सुटिङ्मात्र नेपालबाट यसपटक युथ ओलम्पिकमा परेका हुन् । पोखरा रंगशालाको आर्चरीको आफ्नै खेल मैदानमा करिब ६ वर्षपछि मात्र राष्ट्रियस्तरको आर्चरी प्रतियोगिता भएको हो । स्टाडर्डतर्फ ३० मिटर र ओपनमा ७० मिटरमा खेल खेलाइएको छ ।

कमेन्टहरु
Loading...