काँग्रेस प्रशिक्षण प्रतिष्ठानले संविधानसभा र संसदीय विधि प्रक्रियाबारे आफ्ना सभासदलाई अभिमूखिकरण कार्यक्रम गर्ने

काठमाडौं, ३० पुस । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट चुनिएका सबै सभासदहरुको लागि संविधानसभा र संसदीय अभ्यास लगायतका विषयमा प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानका प्रमुख एवं उपसभापति रामचन्द्र पौडेलको सभातित्वमा बसेको बैठकले पार्टीका प्रत्यक्ष एवं समानुपातिकतर्फबाट चुनिएका सबै सभासदहरुको लागि संविधानसभा व्यवस्थापिका संसदको कार्यविधि एवं प्रक्रिया बारे जानकारी दिने आशयले प्रशिक्षण दिन लागेको हो ।पार्टी केन्द्रीय कार्यालय सानेपामा माघ ५ गते हुने सो कार्यक्रममा संविधानसभा र व्यवस्थापिका संसद सम्बन्धी ऐन नियम, कार्यविधि, शुन्य समय, विशेष समय तथा प्रस्ताव पेश सम्बन्धी विविध प्रक्रिया तथा संविधानसभामा काँग्रेसले विगतमा खेलेको भूमिका र भावी कार्यदिशाबारेमा जानकारी दिईने छ । प्रतिष्ठान प्रमुख एवं उपसभापति रामचन्द्र पौडेलसहित नेताहरु नरहरि आचार्य, निलाम्वर आचार्य र रमेश लेखक लगायतले संविधानसभा व्यवस्थापिका संसदका प्रक्रिया र विधि लगायतका विभिन्न विषयमा जानकारी दिनुहुने प्रतिष्ठानका सदस्य जीतप्रकाश आलेले बताउनुभयो । यसैगरी सभासदहरुको लागि पार्टीले माघ ४ गते स्वागत कार्यक्रम समेत गर्ने बताइएको छ ।

नेपाली काँग्रेसले प्रशिक्षण प्रतिष्ठानको गठन गरेपछि केही वर्षदेखि पार्टीका जिल्ला सभापति, जिल्ला सचिव, महासमिति एवं महाधिवेशन प्रतिनिधि, नगरसभापति, क्षेत्रीय सभापतिलाई विभिन्न चरणमा देशव्यापी रुपमा प्रशिक्षण दिदै आएको छ । त्यस्तै गाउँस्तरसम्म प्रशिक्षणलाई विस्तार गर्न पटकपटक राष्टिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि गरिसकेको छ । प्रतिष्ठान गठन भएपछि यसले पहिलोपटक पूर्वाञ्चलको इटहरीबाट प्रशिक्षण कार्यक्रम शुर गरी वीरगञ्ज, पाल्पा, पोखरा, धनगढी, काठमाडौं, भक्तपुर, नुवाकोट, धनगढी, काठमाडौ थली लगायतका क्षेत्रमा प्रशिक्षण गरेर पार्टीको नीति र नेतालाई जनतासामु लगेर संगठनलाई मजबुत एवं विस्तार गर्न विशेष भूमिका खेलेको प्रतिष्ठानले जनाएको छ ।

कमेन्टहरु
Loading...