पोखरा, २७ पुष/कास्की जिल्लाको भरतपोखरीमा हाइ वान होप भिलेज परियोजना अन्र्तगत निर्माणाधीन खानेपानी तथा सामुदायिक भवनको स्थानीय विकास मन्त्रालयका तर्फबाट अनुगमन भ्रमण भएको छ । मन्त्रालयसँग सम्झौता भई अगाडि बढेको परियोजनाको सभाषदद्वय तेजकुमारी पौडेल, बृन्दा राना र संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश भट्टराई, ग्लोवल पिस फाउण्डेशनका अध्यक्ष रामरोहन पन्त सहितको टोलीले निरीक्षण तथा अनुगमन भ्रमण गरेको हो ।
अनुगमनपछि आयोजित कार्यक्रममा सभाषद तेजकुमारी पौडेलले भरतपोखरी क्षेत्रमा रहेको खानेपानी, विद्युत, बाटोघाटो लगायतका विकास निर्माणका कामहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभाषद बृन्दा रानाले भरतपोखरीमा खानेपानीको ठूलो समस्या रहेको आफूलाई अवगत रहेको र ग्लोवल पिस फाउण्डेसन, कोरीयाली संस्थाले निर्माण गरेको परियोजनाले यस क्षेत्रका जनतालाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै स्थानीय विकास मन्त्रालयका उपसचिव रमेशप्रसाद अधिकारीले परियोजनालाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्वयं समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । ग्लोवल पिस फाउण्डेसनका अध्यक्ष रामरोहन पन्तले भने आफूहरुले खानेपानी र सामुदायिक भवनमा यस आर्थिक बर्षमा सहयोग गरेको र आगामि आर्थिक बर्षदेखि आय आर्जनका कामहरुमा सहयोग गर्ने बताउनुभयो । सो अवसरमा स्थानीयबासीले खानेपानी लिफ्ट सिस्टमबाट तान्नुपर्ने तर विद्युत प्राधिकरणले उद्योग सञ्चालन गर्न खोजेजस्तो गरी ट्रान्समिटर जडानमा असहयोग गरेको बताएका थिए ।
खानेपानी योजना सम्पन्न भएपछि भरतपोखरी गाविस वडा नं. ७ का २३० घर परिवार लाभान्वित हुनेछन् । सामुदायिक भवनमा भने सामुदायिक अध्ययन केन्द्र, भरतपोखरी महिला सहकारी, सामुदायिक बन, अतिरिक्त हुलाक, सामुदायिक पुस्तकालय, पाहुना घर, सभाहल लगायतका संरचना तयार हुने परियोजनाका स्थानीय सहजकर्ता केशव लम्सालले जानकारी दिनुभयो । कोरियाको काउन ल्याण्ड कम्पनीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनाको कुल लागत १ करोड २४ लाख रहेको छ । यसको अलाभा समुदायले खानेपानी योजनका लागि ५ लाख बराबरको जनश्रमदान गर्ने र सामुदायिक भवन निर्माणका लागि झ्याल ढोका उपलब्ध गराएका छन् ।