पोखरा,१३ पुस /कास्की जिल्ला बुद्धिचाल संघद्धारा आयोजित पाचौं कास्की जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा शनिबार चौथो चरणको खेल सम्पन्न भएको छ । खेलमा अम्मर गुरुङ र बुद्धिसागर शर्मा समान चार अङ्कका साथ अग्रपंक्तिमा रहेका छन् ।
यस्तै ३.५ अंकका साथ साथ अजय दास, एकराज अधिकारी र विश्व पराजुली दोस्रो स्थानमा र सबैभन्दा कान्छा खेलाडी ११ वर्षका अनिल बहादुर कोइराला, भीम भट्टराई, भूमिप्रसाद गुरुङ, रञ्जन गौतम, सुवास क्षेत्री, प्रेम भट्टराई, श्यामसुन्दर ताम्राकार, विनोद नापित, विनोदलाल घिसिङ, किरणकुमार रञ्जित र गोविन्द बराल ३ अंकका साथ तेस्रो स्थानमा रहेको संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । शुक्रबारबाट शुरु भएको प्रतियोगितामा आइतबारबाट पाचौं र छैटौं चरण र सोमबार अन्तिम चरणको खेल सम्पन्न हुनेछ ।
प्रतियोगितामा ५९ जना खेलाडिले सहभागिता जनाएका थिए । यसपटकको बुद्धिचाल प्रतियोगितामा उत्साहजनक र प्रतिस्पर्धी खेल जारी रहेको अध्यक्ष पन्तले बताए । प्रतियोगितामा प्रथम हुनेले रु.सात हजार, द्वितीय हुनेले रु.पाँच हजार, तृतीयले रु.दुई हजार, चौथोले रु.एकहजार पुरस्कार पाउनुका साथै पाँचौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले विशेष पुरस्कारको व्यवस्था गरिएको कास्की जिल्ला बुद्धिचाल संघले जनाएको छ ।