तनहुँ संवादाता ।
दमौली बजार क्षेत्रबाट बरामद गरिएको अवैध मदिरालाई मदिरा नियन्त्रण समितिले बुधबार नष्ट गरेको छ ।
आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालको संयोजकत्वमा गठित अवैध मदिरा नियन्त्रण समितिले जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनप्रतिधि, व्यवसायीलगायतको उपस्थितीमा अवैध मदिरा नष्ट गरेको हो ।
प्रहरीले बरामद गरेको ९५ लिटर घरेलु मदिरालाई आन्तरिक राजस्व कार्यालय परिसरमा नष्ट गरिएको प्रमुख कर अधिकृत नारायण ढकालले बताए ।
बुधबार नै अवैध मदिरा नियन्त्रण समितिको बैठकसमेत बसेको छ ।
‘आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कव्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न विभिन्न निकायसँगको सहयोग र समन्वयमा सूक्ष्म रुपमा वजार अनुगमन गर्ने निर्णय समेत समितिले गरेको छ,’ उनले भने ।
अवैध मदिराको उत्पादन, सञ्चय तथा बिक्री वितरणबाट समाजमा विभिन्न किसिमका विकृति फैलने तथा इजाजतपत्र प्राप्त गरी उत्पादन तथा बिक्री हुने मदिराको खपतलाई समेत प्रतिकूल असर पर्न गई प्राप्त हुनुपर्ने राजस्व समेत गुम्न सक्ने अवस्थालाई मध्यनजर राखी यो समितिले नेपाल प्रहरीसँगको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने, अवैध मदिरा उत्पादन, सञ्चय तथा बिक्री वितरण स्थलको खानतलासी गर्ने, त्यस्तो कार्यमा प्रयोग भएका यन्त्र, उपकरणलाई कव्जामा लिने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने र यसका लागि आवश्यक रणनीति वनाउने सम्मका कार्य गर्न सक्ने समितिले जनाएको छ ।।