लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२ औं चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइँदै आएको लमजुङमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन गरिएको प्रि ट्रासमिसन एसिस्मेन्ट सर्वेमा राइनास नगरपालिका अन्र्तगतका २६ जनामा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले गत पुस २३ गतेदेखि २७ गतेसम्म राइनास नगरपालिका–४ र ६ मा उक्त सर्वे सञ्चालन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय र राइनास नगरपालिकाको समन्वयमा दुई वडाका छ वटा क्ल्स्टरमा हात्तीपाइले रोगको जीवाणु भए–नभएको पत्ता लगाउन रक्त परीक्षण गरिएको थियो । वडा ४ र ६ मा ३/३ वटा क्ल्स्टरमा ३००/३०० जनाको रगत परीक्षण गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले जानकारी दिएका छन् ।
उनका अनुसार परीक्षणका क्रममा वडा नं. ४ का १६ जना र ६ का १० जनामा हात्तीपाइलेको जीवाणु देखिएको छ । यसअघि यस जिल्लामा १२ औं चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको अवस्थामा पुनःजिल्लामा यस रोगको जीवाणु भेटिनुले हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।
हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रत्येक वर्ष औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ, तर सबै नागरिकले नियमित औषधि नखाइदिँदा यस्तो समस्या देखापरेको उनको भनाई छ । सर्वेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसहित राइनास स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका छ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए । यस रोगको जोखिम भएका स्थानमा प्रत्येक २/२ वर्ष यस किसिमको सर्वे गरिने केन्द्रले जनाएको छ । सर्वेमा खटिएको टोलीले रगत परीक्षण गरेर तत्कालै अर्थात् परीक्षण गरेको १५ मिनेटमा हात्तीपाइले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गर्छ ।
मस्र्याङ्दीमा सामुदायिक भवन
यहाँ एक सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ उस्तामा यहाँका स्थानीय क्लब, आमा समूहलगायत स्थानीय मिलेर रु ५० लाखमा सामुदायिक भवन निर्माण गरेको हो । स्थानीय तेज लक्षिन घलेले भने, ‘भवनसँगै भान्साघर, भण्डारण कोठा, पानीको धारा, शौंचालयलगायतका आवश्यक संरचना पनि निमार्ण गरिएको छ ।’ भवनमा प्रवेश गर्ने गेट स्थानीय तेज घलेले १ लाख ५ हजारमा निर्माण गरेका छन् । त्यस्तै हाल बेलायत बस्दै आएका प्रेम घलेबाट सामुदायिक भवनमा प्रयोग गर्ने गरी ९७ हजार बराबरको १ थान जेनेरेटर सहयोग प्राप्त भएको स्थानीयको भनाई छ ।
यस भवन निर्माण गर्न लागेकोे रकममध्ये २० लाख गाउँपालिकाले, यहाँ रहेको सुपर न्यादी जलविद्युत आयोजनाले २ लाख ५० सहयोग र बाँकी रकम चन्दा संकलन तथा जनश्रमदान गरेर सामुदायिक भवन निर्माण गरेको स्थानीय उनको भनाई छ । त्यस्तै आमा बुबाको स्मृतिमो चौतारो निर्माण गरिएको छ । बेंसीसहर नगरपालिका–६ पुमा गाउँका गिरिराज गुरुङले आफ्नै आमाबुबाको स्मृतिमा गाउँमा चौतारो निमार्ण गरेका छन् । हाल काठमाडौंमा बस्दै आएका गुरुङ र उनको परिवारको सहयोगमा दिवंगत आमा मनकाशी गुरुङ र बुबा बुद्धिप्रसाद गुरुङको स्मृतिमा चौतारो निमार्ण गरेका हुन् । शिक्षण, पर्यटन व्यवसाय र समाज सेवामा क्रियाशिल रहनुभएका गुरुङले चौतारो निमार्णका लागि डेढ लाख बढी लगानी लगानीमा चौतारा निर्माण सम्पन्न गरेको स्थानीय वीरेन्द्र गुरुङले जानकारी दिएका छन् ।
राइनास प्रशासकीय भवन बन्दै
लमजुङस्थित राइनास नगरपालिका–५ तीनपिप्लेमा यस नगरपालिकाले आफ्नै नगरप्रशासकीय भवन निर्माणलाई तीव्रता दिएको छ । नगरपालिकाको सात रोपनी जग्गामध्ये दुई रोपनी क्षेत्रफलमा प्रशासकीय भवनको निर्माण निर्धारित समयमा सक्ने लक्ष्यका साथ अघिबढेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताएका छन् ।
नगरपालिकाको कार्यालय अहिले कृषि सेवा केन्द्र राइनासको भवनबाट नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त भवन साँघुरो र कोठा कम भएका कारण सेवा प्रवाहमा असहज भइरहँदा सेवा प्रवाहमा निकै समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गत वर्ष २०७६ असोज २ गते कन्चनजंग निर्माण सेवा कम्पनी इलामसँग सम्झौता गरेको मितिदेखि ३ वर्षभित्र नगरको प्रकाशकीय भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । ३ तले भवनमा २० वटा कोठा निर्माण हुने छ । हालसम्म १७ वटा कोठा निर्माण भएको र तेस्रो तलामा एउटा बैठक कोठासहित ३ वटा कोठा निर्माण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । यस भवनको निर्माण ७ करोडमा स्टेमेन्ट भएकोमा उक्त निर्माण सेवाले २४ प्रतिशत कममा ठेक्का पारेर यस भवन निर्माण गर्न ४ करोड ६३ लाख ५७ हजार १ सय ७२ रुपैयाँ २० पैसामा सम्झौता गरेर निर्माण गर्दै आएको नगरपालिकाले जनाएको छ । राइनास नगरपालिकाको निर्माणधिन प्रशासकीय भवनमा सबै शाखा अट्ने गरी स्टिमेट भएको जनाइएको छ । रासस