पोखरा, ८ पौष/भदौरे पञ्चासे महोत्सव आज सकिएको छ । महोत्सवको सभासद यज्ञबहादुर थापाल देशमा विद्यमान संक्रमण कालको अन्त्य र संविधान लेखन कार्यमा आफ्नो शसक्त भुमीका निर्वाह गर्ने उल्लेख गर्दै एक बर्षमानै संविधान जारी गर्ने बताए । उनले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण एवं बधाई ज्ञापन गर्दै क्लवको प्रगतिको कामना गरेका थिए ।महोत्सव पौष ४ देखि शुरु भएको थियो । कास्की जिल्लाको भदौरे तामागी गाविस अन्तरगत वडा नं १, देउराली डांडामा सञ्चालन गरिएको थियो । मेलामा विभिन्न प्रतियोगिताहरु एवं साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए । सो अन्तरगत पुरुष भलिबल प्रतियोगितामा १८ समुह सहभागि भएका थिए । प्रतियोगितामा प्रथम र दोस्रो क्रमशः हेमजा यूवा क्लब हेम्जा र एपेक्स युवा क्लव काँडे भएका थिए । सिक्स् ए साईड फुटबल प्रतियोगितामा १६ समुह सहभागि भएका थिए ।
सो प्रतियोगितामा मिलन युवा क्लव धम्पुस प्रथम र दह्रौँ सिरुवारी युवा क्लव स्याङ्जा दोस्रो भए । दुवै प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । मेलामा स्थानिय उत्पादन, कृषि उपज खाद्य पदार्थको विक्रि वितरण भएको थियो । विशेष गरि स्थानिय गुन्दु्रक, स्थानिय साग लागाएत प्राङ्गारिक तरकारि किन्नेहरुको भिड थियो । गुरुङ् रोटि र कोदोको सेलरोटिको स्वाद चाख्नेहरुको उपस्थिति पनि कम थिएन । अन्य स्थानिय प्राङ्गारिक उत्पादनका विभिन्न परिकारहरुको स्वाद समेत लिन पाईएको थियो ।
महोत्सवको विशेष आकर्षणको रुपमा गुरुङ् संग्रहालय रहेको थियो । संग्रहालयमा गुरुङ संस्कृति र परम्परा झल्किने जन्म देखि मृत्यु पर्यन्त गरिने विभिन्न संस्कारहरु, जीवन शैली, भेस भुषा आदि प्रदर्शन गरिएको थियो । मेलालाई सफल पार्नको लागि हरियो वन कार्यक्रम, पञ्चासे संरक्षित वन कार्यक्रम, भदौरे तामागी गाविस, कास्की जिल्ला फुटवल संघ, एन्फा कास्की, विभिन्न संघ संस्था लगाएले सहयोग गरेका थिए ।