गुणस्तर मापनमा ध्यान दिऔँँ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गरेकी छन् ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहको उल्लेख गर्दै उनले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

“अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हँुदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ”, मन्त्री अर्यालले भनिन् , “तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।”

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिइन् । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन् ।

“उपलब्ध स्रोत साधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ, अब यतिले मात्र आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ”, मन्त्री अर्यालले भनिन् , “आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढङ्गले तपाईहरु अगाडि बढ्नुस् ।” विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य स्वच्छता कायम गर्न सबैले ध्यान दिइरहेको जानकारी गराएका थिए।

कमेन्टहरु
Loading...