प्रथम राष्ट्रिय विद्यालय खेलकुद –२०७० जुनियर च्याम्पियनसीप

पोखरा, २३ जेठ। प्याब्सन कास्कीको आयोजनामा प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीप बिहीबारदेखि पोखरामा सञ्चालन हुँदैछ। प्रतियोगिताअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगिता र कराँते प्रतियोगिता खेलाइनेछ।पोखरा रड्डशाला र शान्तिदीप इङ्लिस स्कुल मझेरीपाटनको खेलमैदान गरी दुई स्थानमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत समूह ए अन्तर्गत १ देखि १७ सम्मका खेल पोखरा रड्डशाला र समूह बी अन्तर्गत १८ देखि ३४ सम्मका शान्तिदीप इङ्लिस स्कुलमा सञ्चालन हुने प्रतियोगिता संयोजक जगत थापाले जानकारी दिए।दुवै ठाउँमा गरी बिहीबार १० वटा खेल हुनेछन्।

पोखरा रड्डशालामा पहिलो खेल गण्डकी बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुलबीच हुनेछ भने शान्तिदीपमा चिल्ड्रेन्स एकेडेमी र लक्ष्मी आदर्श बोर्डिङ स्कुलबीच हुनेछ। जेठ २७ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ३४ टीमको सहभागिता रहेको छ। जुनियर कराँते प्रतियोगिता भने शुक्रबार हुनेछ। पुरुषतर्फ चार तथा महिलातर्फ चारवटा इभेन्ट सञ्चालन हुनेछन्। पुरुष ३७, ४२, ४७ , ५२ केजीमुनि र एकल काँता तथा महिला ३५, ४०, ४५, ५० केजीमुनि र एकल काँता हुने कराँते प्रशिक्षक फत्त गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...