पोखरामा भएको विच भलिबलको उपाधि आर्मी र शसस्त्रलाई

पोखरा, ९ असार/भलिबल प्रतियोगितामा विभागीय टोलीले आफनो बर्चस्वलाई जोगाउने क्रममा छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । पुरुष तर्फ भने गण्डकी प्रदेशले दोस्रो र तेस्रो स्थानमा चित्त बुझाएको छ ।

शनिबार टुग्याउने तय गरिएको प्रतियोगिताको झरीले लम्बिएपछि सोमबार मात्रै फाईनल खेलाईएको थियो । महिला तर्फको फाईनलमा शसस्त्र प्रहरी बलको ए टोली विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल पुलिस क्लबका निता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३, २१–१३ को सेटमा पराजित गर्दै उपाधि उचाले ।

उपाधिसँगै नगद ३० हजार पुरस्कार थाप्दा पुलिस क्लबले भने २० हजारमा चित्त बुझायो । तेस्रो स्थानमा आर्मीका पुष्पापल परियार र मनिषा खाँडको जोडीलाई पुलिस बीका मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले प्रतिस्पर्धात्मक खेल ८–२१, २१–१२ र १५–१२ को सेटमा जित्दै तेस्रो स्थानको खुशीयाली मनाएका थिए ।

यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेश बीका राजु विक र अनिल दर्लामी मगरको जोडीलाई त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले उपाधि उचाल्न तीन सेट खेल्न पुगे । पहिलो सेट २१–१६ ले आफनो पक्षमा पारेको आर्मीले दोस्रो सेट घरेलु टोलीलाई १८–२१ मा गुमाउन पुग्यो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आर्मीले लयमा फर्किदै अन्तिम सेट पनि १८–१६ मा लिदैं उपाधिको हकदार बन्यो ।

नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता गण्डकी प्रदेशले २०हजार प्राप्त गर्यो । तेस्रो स्थानको खेलमा गण्डकी प्रदेशका सन्जुविक्रम शाह र रमेश केसीको जोडीले नेपाल पुलिस क्लब एका चन्द्र कुँवर र तोरण चन्दको जोडीलाई २१–१७, २३–२१ को सेटमा पराजित गर्दै नगद १० हजार राशीको तेस्रो पुरस्कार लिदैं इज्जत जोगाए ।

कास्की जिल्ला भलिबल संघको व्यवस्थापन,नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी महिला तर्फ १४ र पुरुष तर्फ १७ टोलीले प्रतिस्पर्धा गरेका थिए । खेल लिगकम नकाउटको आधारमा खेलाईएको छ ।

पोखराको बाराही खेल मैदानमा निर्मित विच कोर्टमा आयोजित प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सदस्य राजीप पहारी, पश्चिम पृतना पोखराका पृतनापति काजीबहादुर खत्री, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले नगदसहित पदक तथा प्रमाणप्रत्र प्रदान गरेका थिए । प्रतियोगितामा आर्मीका दिलबहादुर सुनार र शसस्त्रकी विनिता बुढाथोकी उत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुलाई नगद ३/३ हजार रुपैयाँ प्रदान गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

कमेन्टहरु
Loading...