चैत्र तेस्रो साता बिरेन स्मृति ११ औं बिटी कप फुटबल हुने

पोखरा, ९ पोखरा/खेलकुदको शहरको रुपमा विकास भईरहेको पोखराको वडा नं. १ पुरानो टुडिखेलस्थित बुद्धटोल युवा क्लबले आउदो चैत्र १९ गतेदेखि २६ गतेसम्म बिरेन स्मृति ११ औं बि.टी. कप सेभेन ए साइड फुटवल प्रतियोगिता २०७३ आयोजना गर्ने भएको छ ।

क्लवले सोमवार पुरानो टुडिखेलस्थित भूपू सैनिक क्लवमा आयोजित पत्रकार सम्मेलन गरी उक्त जानकारी गराउदै प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ६० हजार १११ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव रेशम सापकोटाले जानकारी दिनुभयो ।

पुरानो टुडिखेलमा हुने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलरक्षकलाई पुरस्कृत गरिने भएको छ । यसरी नै क्वाटर फाइनलबाट म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक प्रदिप राईले जानकारी दिनुभयो । ४० भन्दा बढी टिमको सहभागीता रहने अपेक्षा गरिएको प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता चैत्र १७ गतेसम् मगर्न सकिने क्लवका सदस्य अमृत गुरुङले जानकारी दिनुभयो ।

९ लाख ५७ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि बिटी फेमिली युके, हङकङ, पोर्चुगल लगायत विदेश र स्वदेशका संघ संस्था र महानुभावहरुको सहयोग रहने अपेक्षा गरिएको उपाध्यक्ष श्री विजया गुरुङले बताउनुभयो ।
२०६३ सालमा स्थापित क्लवले नियमित रुपमा बिटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको दशौं संस्करण गत वर्ष सम्पन्न गरेको हो भने यस वर्षदेखि क्लवका सल्लाहकार बिरेन गुरुङको स्मृतिमा चैत्र महिनाको १९ गतेदेखि बिटी कप गर्ने निर्णय क्लवले गरेको हो । सल्लाहकार बिरेन गुरुङको २०७२ साल चैत्र १९ गते अल्पायुमै निधन भएको थियो ।

क्लवले बिटी कप सहित मेला, महोत्सव, सरसफाई, डष्टविन वितरण, भुकम्प पीडितलाई राहत वितरण, भुकम्प पीडित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै युवाहरुलाई सामाजिकरणको माध्यमबाट समाजसेवा गर्दै आइरहेको छ भने बिटी कपको माध्यमबाट खेलकुद क्षेत्रमा योगदान दिदै आएको सल्लाहकार राधा गुरुङले बताउनुभयो । खेल मार्फत युवाहरुलाई सामाजिकरण र राष्ट्रलाई योगदान पुर्याउन आयोजना गरिने बिटी कप भव्यताका साथ सम्पन्न गर्न गराउन सहयोगको लागि प्रचार संयोजक असिम थापाले आग्रह गर्नुभयो । बिटी कपको गतवर्षको उपाधी बाँझापाटनको बी—१३ ले जितेको थियो ।

कमेन्टहरु
Loading...