आठ वर्ष पछि स्ववियु चुनाव फागुनमा हुने

पोखरा, २० पुस /धेरै पटक घोषणा भएर पनि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने भएको छ । बिगत ८ वर्षदेखि रोकिएको युनियन निर्वाचन फागुन हुने सहमति भएको हो ।

त्रिभुवन विश्वविद्यालय सभाको बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । अन्तिम पटक २०६५ सालमा स्ववियु निर्वाचन भएको थियो । त्रिवि नियम अनुसार प्रत्येक २ वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने भएपनि विभिन्न विवादले निर्वाचन हुन सकेको थिएन ।

सिनेट बैठकले स्ववियु निर्वाचनमा उमेर हद कायम गरेको छ । उम्मेदवार हुन २८ वर्ष उमेर कायम गर्ने सहमति भएको त्रिवि सभा सदस्य तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् । त्यसैगरी स्ववियु निर्वाचन अबदेखि मिश्रित प्रणालीबाट हुने उनले बताइन् ।

सभापति, सचिव र कोषाध्यक्ष सहित बहुमत सदस्य प्रत्यक्ष र उपसभापति, सहसचिव सहित अन्य सदस्य समानुपातिक रुपमा संगठनले प्राप्त गरेको मतका आधारमा चयन गरिनेछ ।

कमेन्टहरु
Loading...