राप्रपा पोखरा नगरमा खत्री र लेखनाथमा रेग्मी

पोखरा, १७ माघ /आगामी फागुन ६ देखि ९ सम्म हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय महाधिवेशनलाई दृष्टिगत गर्दै कास्कीका विभिन्न गाउँ र वडामा अधिवेशन सम्पन्न भए लगत्तै कास्कीका दुई नगरका अधिवेशन सोमवार सम्पन्न भएका छन् ।

अधिवेशनले पोखरा नगरको अध्यक्षमा रमेश बहादुर खत्री र लेखनाथ नगरको अध्यक्षमा कृष्णराज रेग्मीलाई चयन गरेको राप्रपा कास्की प्रवक्ता सूर्य बास्तोलाले जानकारी दिनुभयो । अधिवेशनले पोखरामा ४० सदस्यीय र लेखनाथमा २१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

पोखरामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक रमेश बहादुर भट्टराईले अधिवेशनको उद्घाटन गर्दै समझदारीमार्फत हामीहरु एक भएर प्रतिनिधिको चयन गरौं भन्दै सम्पूर्ण राष्ट्रवादी शक्ति एक भई हिन्दु राष्ट्र तथा संवैधानिक राजसंस्था कायम गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक भई लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु कुल बहादुर गुरुङ्ग कुलु, कमलमान गुरुङ्ग, जेवि कुँवर, रोमबहादुर भण्डारी, डा.भीमसेन गुरुङ्ग, शिव कुमार बास्तोला, जिल्ला अध्यक्ष जयलाल पुन, जिल्ला उपाध्यक्षहरु अर्जुन बहादुर बस्नेत, नरहरि तिमिल्सिना, जिल्ला सहअध्यक्ष नेत्रबहादुर बस्नेत, प्रशिक्षण विभागका बरुण बिक्रम राणा, पूर्व नगर अध्यक्ष हरि बराल, पूर्व नगर अध्यक्ष मोतिमान शाक्य, हरि जिसी, क्षेत्र नं.२ का अध्यक्ष गिता गुरुङ्ग, निर्वाचन समिति संयोजक विश्वेश्वर ढकाल, सहअध्यक्ष नारायण गुरुङ्ग लगायतले हिन्दु राष्ट्र तथा संवैधानिक राजसंस्था अबको अपरिहार्य रहेको बताउदै सहमति, सहकार्य गरी समृद्ध नेपालको निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरु मन, वचन र कर्मले अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

नवनियुक्त अध्यक्ष द्वय खत्री र रेग्मीले सम्पूर्ण साथीहरुलाई मिलाएर पार्टीलाई चाक्लो र बाक्लो बनाउन अग्रजहरुसँग सल्लाह लिई पार्टीको सिद्धान्त र देशको हितमा सधैं अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । स्मरण रहोस्, २१ गते कास्कीका ४ वटै क्षेत्रको अधिवेशन र २५ गते कास्की जिल्ला अधिवेशन हुने कार्यक्रम तय भएको छ ।

कमेन्टहरु
Loading...