विदेशको कमाईले गाउँ झलमल

पोखरा, ११ फागुन/ कास्कीको सैमराङ गाउँ विकास समिति स्थित वारचोक गाउँमा जन्म भई विदेशमा श्रमरत नागरिकहरुको पहलमा आफ्नो गाउँलाई झलमल पारिएको छ । बैदेशिक रोजगारीमा रहेका वारचोकका बासिन्दाले आफ्नो गाउँको बाटो वरपर सडक बत्तीको व्यवस्था गरी गाउँ झलमल पारेका हुन् ।

सडक बत्तीका लागि आबश्यक २३ वटा खम्बा र तिनमा राख्ने बल्बका लागि रकम जुटाईको थियो । विद्युतीकरण र करिव पाँच सय मिटर सिंढि बाटो निर्माणका लागि कूल २० लाख २० हजार छ सय ६० रुपैयाँ खर्च भएको स्थानीय समाजसेवी सुबेदार रामप्रसाद गुरुङले जानकारी दिए । उक्त गाविसका वडा नम्बर १ र २ को बाटो वरपर त्यस्तो बत्तीको व्यवस्था गरिएको उनले सुनाए ।

बेलायत, सिंगापुर, अष्ट्रेलिया, हङकङ लगायतका देशमा कार्यरत वारचोकका नागरिकबाट सहयोग रकम जुटाइएको हो । पूर्व बेलायती सेनाका रुद्रबहादुर गुरुङको पहलमा रकम संकलन गरी वारचोक गाउँ विकास कोष मार्फत् विकासका उल्लेखित कार्यहरु सम्पन्न गरिएको हो । रुद्रबहादुर तथा उनका धर्मपत्नी ज्योती गुरुङले हालै सडक बत्ती र निर्मित सिढी बाटोको उद्घाटन गरेको निर्माण संयोजक इश्वरप्रसाद गुरुङले जानकारी दिए ।

सो विकास कार्यका लागि समाजसेवी धनराज गुरुङले पनि विशेष सहयोग पुर्याएका थिए । हङकङमा कार्यरत तुलसीकुमार गुरुङले सबैभन्दा धेरै पाँच लाख रुपैयाँ सो विकासका लागि सहयोग गरेका थिए । उनी पूर्व बेलायती गोर्खा सैनिक हुन् ।

कमेन्टहरु
Loading...