पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन, उपराष्ट्रपतिले उद्घाटन गर्ने

पोखरा, १२ फागुन /पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायको आयोजनामा व्यवस्थापन विषयका विभिन्न आयामहरुमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनको उद्घाटन आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको आयोजक समितिका संयोजक डाक्टर दिपक बहादुर भण्डारीले बताए । सम्मेलनको उद्घाटन सत्रमा जापानको निहोन विश्वविद्यालयका प्राध्यापक कात्सुहिको हिरासाबालाई किनोट स्पिकरका रुपमा आउने बताए ।

तीन दिनसम्म संचालन हुने सम्मेलनमा व्यापार र समाज, बजारशास्त्र, वित्तशास्त्र, मानव शंसाधन व्यवस्थापन, साधारण व्यवस्थापन, शासन प्रणाली तथा सिएसआरका विभिन्न आयामहरुमा ७५ जना सहभागीहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । करिब २ सय कार्यपत्रहरु मध्येबाट ती ७५ कार्यपत्रहरु छनौट गरिएको सह संयोजक बलराम भट्टराईले जानकारी दिए ।
सम्मेलनमा नेपाल बाहेक जापान, नेदरल्याण्ड, थाइल्याण्ड, अस्ट्रिया, दक्षिण अफ्रिका, फिलिपिन्स, भारत, बंगलादेश र श्रीलंका लगायतका दर्जन देशका करिब ५ सय विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहने आयोजक पक्षको दावि छ । कार्यक्रममा तीन दिनमा १८ वटा विभिन्न सत्रहरु तथा उद्घाटनका दिन प्यानल डिस्कसन हुने आयोजक समितिका सदस्य डाक्टर उमेशकुमार यादवले बताए ।

आयोजक पक्षका अनुसार करिब पच्चीस लाख रुपैयाँको खर्चमा सम्पन्न हुने यो सम्मेलन पोखरा विश्वविद्यालयको इतिहासमा नै सबैभन्दा वृहत हुनेछ । यो सम्मेलन मार्फत नेपालको व्यवस्थापन अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपिने पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन डाक्टर कर्णविर पौडेलले अगाडी थपे ।

कमेन्टहरु
Loading...