यस पटको ट्होटें पर्व साउन ३२ मा

पोखरा, १४ साउन/तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटें तमु धिं नेपालले साउन ३२ गते मंगलवार पोखरामा धुमधामका साथ मनाउने भएको छ । वर्षको दुई पटक चैत्र र साउनको अन्तिम मंगलवार सामुहिक रुपमा मनाउदै आएको ट्होटें साउन ३२ गते मंगलवार परेको हुनाले सामुहिक रुपमा धुमधामका साथ मनाउने भएको हो ।

यस पटकको उधौली ट्होटें पोखराको पुरानो टुडिखेलबाट झाँकी, बाजागाजा, विभिन्न साँस्कृतिक प्रस्तुतिसहित शुरु हुने ट्होटे र्याली बागबजार, विन्देवासिनी, मोहरियाटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा पुगी समारोहमा परिणत हुने तमु धिं नेपालले जनाएको छ ।

तमु धिं नेपालमा करिब दुई दशक सचिव, महासचिवको जिम्मेवारी पुरा गर्नुभएका पुर्व महासचिव देवीराज तमुलाई प्रमुख अतिथि आमन्त्रण गर्ने शुक्रवारको तमु धिं नेपालको बैठकले निर्णय गरेको अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।

ट्होटे र्यालीमा क्षेत्रीय समाजहरुको प्रस्तुतिको मुल्यांकन गर्न तमु धिं नेपालकी सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङ संयोजकको जिम्मेवार बैठकले प्रदान गरेको सचिव गिरीप्रसाद गुरुङले बताउनुभयो । यसरी नै ट्होटेमा कार्यसमिति सदस्य, युवा व्यवसायी नारायण गुरुङले पिउने पानी प्रायोजन गर्नुहुने भएको तमु धिंले जनाएको छ ।

कमेन्टहरु
Loading...