पोखरेलीको भान्सामा रुकुमको आलु

प्रकाश ढकाल
पोखरा, ८ भदौ /आलु खेतीको पकेट क्षेत्र मकवानपुरको पालुङमा यो बर्ष उत्पादन ह्वात्तै घट्यो । लामो समयदेखि ब्यवसायीक खेती हुने यस क्षेत्रमा पानी चाहिने समयमा खडेरी परेर उत्पादन घटेपछि किसानहरु मर्कामा परेका छन् । त्यसको मार किसानलाई मात्रै परेन प्रत्यक्ष जोडियो पोखरा पनि ।

पोखरेलीको भान्सामा रुकुमको आलु
पोखरेलीको भान्सामा रुकुमको आलु

हरेक बर्ष पालुङले धान्ने पोखराको आलु बजार अहिले शून्य जस्तै भयो । अघिल्ला बर्षहरुमा २५ सय टनसम्म आलु पालुङबाट भित्रिने पोखरामा मुश्किलले २ सय ५० टन भित्रियो । खडेरीले आलु नउम्रिँदै खुईलियो, फलेका पनि गुणस्तरीय छैनन्, पालुङका आलु ब्यापारी राजेन्द्र थोकरले भने–यो बर्ष किसानको लगानी पनि उठेन । आकाशे पानीमा भर पर्नुपर्ने बाध्यताले समस्या भएको उनी बताउँछन् ।

अघिल्ला बर्षहरुमा एउटै किसानले ७५ टनसम्म बेच्थे, तिनिहरुसँग अहिले आलु नै छैन, उनी भन्छन्–त्यसको असर किसानसँगै ब्यापारी र उपभोक्तालाई समेत परेको छ । पालुङबाट नआएपछि पोखराको यो सिजन रुकुमको आलुले टर्यो । दुई बर्षदेखि परीक्षणको रुपमा बिक्रि हुँदै आएपनि यो बर्ष पूरै माग रुकुमकै आलुमा निर्भर भयो । यो बर्ष रुकुमबाट मात्रै ब्यापारीले ३ हजार टन भन्दा बढी आलु पोखरा ल्याएका छन् । पोखरामा खपत बढेपछि किसानले मूल्य पनि राम्रो पाएका ब्यापारीहरु बताउँछन् ।

अघिल्ला बर्षहरुमा १५ रुपैयाँ प्रतिकिलो मुश्किलले बिक्रि हुने आलु अहिले घरबाटै २५ रुपैयाँमा ब्यापारीले उठाएका छन् । ब्यापारीले रुकुम सहित, सल्यान र रोल्पाका सीमानाबाट पनि आलु उठाउँछन् । पोखराका उपभोक्ताले आलु मन पराएपछि खपत पनि निकै बढेको रुकुमका ब्यापारी खगेन्द्र वलीले बताए । विगतमा व्यापारीले सस्तो मूल्यमा खोज्ने गर्थे, तैपनि थोरै मात्रै बिक्रि हुन्थ्यो, वलीले भने–यो बर्ष धेरै समय घरमा राख्नु परेन, मूल्यपनि चित्तबुझ्दो पाईयो । यस क्षेत्रमा उत्पादित आलु दाङ, नेपालगञ्ज, बुटवल लगाएतका बजारमा बिक्री हुने वलीले जानकारी दिए ।

उनले बिगत दुई बर्षदेखि पोखरामा आलु ल्याउने गरेका छन् । रुकुमको झल्नेटा, बागुखोला लगाएतका ठाउँमा बढी आलु उत्पादन हुन्छ । आलु ब्यापारका लागि पहिलो पटक पोखरा आएका रुकुमका अर्का ब्यापारी धनविर वली पोखराको बजार देखेर दंग छन् । उनले मात्रै यो सिजनमा ४ हजार क्विन्टल आलु पोखरा भित्र्याए । पहिले आलु नविकेर किसानलाई दिने पैसा पनि ऋण खोज्नुपथ्र्यो, उनले भने–अहिले माग धान्न पनि गाह्रो भयो । बजार नपाएर धेरै बर्ष किसानकै खेतमा आलु कुहियो, बिक्रि भएपनि राम्रो मुल्य थिएन, वली भन्छन्–अहिले आलु बिक्री नहुने चिन्ता भएन ।

आलु निकासी गर्दा धेरै तिर कर तिर्नुपर्ने ब्यवस्थाले भने समस्या भएको उनको भनाई छ । ब्यापारीहरुले प्रति क्विन्टल आलुको ५० रुपैयाँ कर जिल्ला विकास समितिलाई तिर्नुपर्छ । रुकुमबाट ल्याईएका आलुको माग पोखरामा निकै बढेको कृषि उपज बजार पोखरा स्थित बर्मा ट्रेडर्सका ब्यापारी सन्दिप बर्माले बताए । चिसो ठाउँमा उत्पादन हुने आलु तुलनात्मक रुपमा स्वादिलो हुने भएकाले यहाँको आलुको माग बढेको हो । एउटै मूल्यमा गुणस्तरीय र स्वादिलो आलु पाएपछि उपभोक्ताले अरु छोडेर रुकुमको आलु खोज्न थालेका छन्, उनले भने–अघिल्ला बर्षहरुमा ५÷१० टन आउँथ्यो, अहिले पूरै बजारमा रुकुमको आलु छ । आलु आयात बढेपछि ग्रेडिङ समेत गर्ने तयारी छ ।

सहज रुपमा सडक विस्तार हुन सके पोखरामा भारतको आलु ल्याउनु नपर्ने बर्मा बताउँछन् । बाटो निकै अप्ठ्यारो छ, धेरै पटक लोड अनलोड गर्नुपर्छ, उनी भन्छन्–पकेट क्षेत्रहरुमा सडक पुग्यो भने लागत पनि कम हुन्छ र किसानले बढी मूल्य पाउन सक्छन् । पोखरामा सिजन अनुसार जिल्ला बाहेक मुस्ताङ, नुवाकोट, काभ्रे र भारतबाट आलु आयात हुन्छ । नुवाकोटको निलो आलु पनि बर्षैभरी जस्तो पोखरामा पाईन्छ । यद्यपी कति आलु खपत हुन्छ भन्ने तथ्याकं चाहीँ कसैसँग पनि छैन । पछिल्लो समय पश्चिम नेपालका जिल्लाहरुबाट आलुको आयात बढेको ब्यापारीहरु बतउँछन् ।

कमेन्टहरु
Loading...