अविरल वर्षाबीच १११ हप्ताको सरसफाइ केदारेश्वरमा

पोखरा, ३१ असार/पोखरामा जारी बृहत् सफाइ अभियानको १११ श्रृंखला शनिबार केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा सम्पन्न भएको छ । अविरल वर्षाका बाबजुद पनि सरसफाइमा सहभागीहरुले सो अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित अभियानको सो श्रृंखला प्रदेश सांसद राजीव पहारीले उपस्थिति सहभागीलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै उद्घाटन गरेका थिए । उनले अभियानले पोखरालाई अझ सुन्दर बनाउन मद्दत पुगेको र सर्वसाधारणमा सचेतना अभिवृद्धि गरेको बताए ।

यस हप्ताको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, अभियान महिला समूह, माछापुच्छे महिला क्लब, मितेरी नारी समूह, खहरे आमा समूह, ड्यामसाइड टोल विकास संस्था, लायन्स क्लब अफ लेकसाइड, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पोखरा वडा ६ का विभिन्न आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

सो अवसरमा भिटोफ र लायन्स क्लब अफ लेकसाइडले सरसफाइ सामग्री उपलब्ध गराई सहयोग गरेका थिए भने मितेरुी नाराी समूहले खानेपानी उपलब्ध गराएको थियो । कार्यक्रम संचालन सरसफाइ अभियन्ता नागरिक समाज संयोजक विष्णुहरि अधिकारीले गरेका थिए ।

साउन महिनामा बोलबम हुने भएपछि त्यसपूर्व सरसफाइ अभियान केदारेश्वर परिसरमा आएकोमा अभियन्ताप्रति मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले आभार प्रकट गरे । सरसफाइको आगामी ११२ श्रंखला पोखराको पृथ्वीचोकमा हुनेछ ।

कमेन्टहरु
Loading...