कास्कीका कुमार खड्का मन्त्रि बने, आखिर को हो हुन् कुमार खड्का ?

पोखरा, माघ ६ / प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । संसदमा एक÷एक सिट भएका समाजवादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई सरकारमा सहभागी गराएका छन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउने खड्का कास्कीका सांसद​ हुन् ।दुई मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय पुगेको छ ।

आखिर को हुन् खड्का ?

प्रभावशाली व्यक्तित्व, स्पष्ट वक्ता र काम फत्ते गरेरै छोड्ने स्वभावका कुमार खड्काको जन्म २०२५ साल साउन १७ मा पोखराको बाटुलेचौर, अमरदीपमा भएको हो ।  सुरुवातमा काँग्रेस राजनीति गरेका ४८ वर्षीय खड्का क्षत्री समाज नेपाल हुँदै पछिल्लो समय अखण्ड नेपाल पार्टीको नेतृत्व सम्हालेका हुन् । स्कुले शिक्षा बाटुलेचौरकै विन्ध्यवासिनी माविबाट सकेपछि उच्च शिक्षाका लागि उनी २०४३ सालमा पश्चिमाञ्चल इञ्जिनियरीङ अध्ययन संस्थानमा भर्ना भए ।  त्यहाँ नेवि संघको सभापति रहेका उनी २०४४ सालमा स्ववियु निर्वाचनमा सभापति निर्वाचित भए । अध्ययनसँगै राजनीतिमा होमिएका खड्का डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियर सकेपछि थप अध्ययनका लागि सन् १९९७ मा बेलायत पुगे ।

त्यहाँको ग्रिनवीच कलेजमा उच्च शिक्षा हासिल गरेपछि उनी सन् २००५ मा नेपाल फर्के । उनी पोखरामा रहँदा २०६२÷०६३ को आन्दोलनमा होमिए । क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष रहेका बेला खड्का २०६४ मा महासचिव बन्ने अवसर पाए । ७ वर्षसम्म क्षत्री समाज नेपालको महासचिव रहेका उनी आफ्नै पहलमा अखण्ड नेपाल पार्टी स्थापनासँगै २०७० साल पार्टी अध्यक्ष भएका हुन् । २०७० जेठ ९ मा पार्टी निर्वाचन आयोगमा दर्तासँगै जेठ १३ गते काठमाडौंको टुँडिखेलबाट स्थापनाको घोषण गरिएको थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद् बन्ने अवसर पाएका खड्काले क्षत्री समाजमा लाग्दा समाजको माग पूरा गराउन अभियानको रुपमा अग्रमोर्चामा रहेर काम गरेका थिए । समाजले राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम राख्दै देशव्यापी अभियान गरेको हो ।आफ्नो रुचीको मन्त्रालय सम्हाल्ने भएपछि खड्काले आदर्श समाजसँगको कुराकानीमा अनुभवको कमी भए पनि सम्पूर्णको हितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनको स्थायी बसोबास बाटुलेचौर अमरदीपमै छ । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन् । विभिन्न  सामाजिक, शैक्षिक, वित्तीय संस्थामा सक्रिय भूमिका निर्वाह गर्दैआएका खड्का क्षेत्री समाज नेपालको सल्लाहकार, सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकारलगायतमा आवद्ध छन् ।क्षत्री समाजले उठाएको अभियानमा निरन्तर लागेका खड्का मन्त्री बन्ने भएपछि समाजको अभियान थप सशक्त बन्ने खड्कालाई नजिकबाट चिन्ने समाजका केन्द्रीय सचिव कृष्ण थापा बताउँछन् ।

 

कमेन्टहरु
Loading...