काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाका लागि १७९ रोपनी जग्गा र १ करोड २१ लाख भुमिदान

पोखरा, १३ फागुन/धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा पोखरा उपमहानगरपालिका वडा नं. २१ काँहुडाडामा निर्माण गरिने करिब ८० मिटर अग्लो भगवानको मुर्ति सहितको बुद्ध मण्डला निर्माणार्थ १७९ रोपनी जग्गा र १ करोड २१ लाख रुपैया भुमिदान गरिएको छ ।

पोखरालाई बुद्ध सर्किटसँग जोड्दै काँहुडाडालाई पर्यटक केन्द्रको रुपमा विकास गर्न निर्माण गरिने बुद्ध मण्डला निर्माणार्थ स्थानिय धारापानी सामुदायिक बन उपभोक्ता समितिले १७० रोपनी, काँहु घोताने परिवारका सुवेदार इन्द्रबहादुर गुरुङ, पुर्णकुमारी गुरुङ, सुवेदार प्रेमबहादुर गुरुङ र मिनबहादुर गुरुङले १ रोपनी, खिमबहादुर गुरुङले १ रोपनी र स्वर्गीय आमाबाबाको स्मृतिमा गमबहादुर गुरुङ, रञ्चकुमारी गुरुङले १ रोपनी निजी जग्गा भुमिदान गर्नुभएको हो ।

शुक्रवार काहुँडाडामा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा आयोजित भुमिदान कार्यक्रममा बन समितिका तर्फबाट अध्यक्ष कुमार क्षत्रीले समितिद्धारा मण्डला निर्माणका लागि १७० रोपनी जग्गा स्वामित्व हस्तान्तरण गर्ने निर्णय कार्यक्रम प्रमुख अतिथि बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका संरक्षक अवतारी साङपा रिम्पोछलाई हस्तान्तरण गर्नुभएको हो । यसरी नै काँहुडाडामै रहेको निजी जग्गा सु.इन्द्रबहादुर गुरुङ, पुर्णकुमारी गुरुङ, सु.प्रेमबहादुर गुरुङ र मिनबहादुर गुरुङले १ रोपनी जग्गा भुमिदान गरेको दानपत्र, यसरी नै खिमबहादुर तमुले १ रोपनी जग्गा भुमिदान गरेको दानपत्र प्रमुख अतिथि रिम्पोछेलाई हस्तान्तरण गर्नुभयो भने काँहुकै गमबहादुर गुरुङले १ रोपनी भुमिदानको घोषणा गर्नुभएको हो ।

उक्त भुमिदानसहित बुद्धको मुर्तिको आसनका लागि ७ करोड रुपैया मुल्यको भुमिदान आवाश्यक भएकाले समितिद्धारा आव्हान गरिएको भुमिदानका लागि १ करोड २१ लाख २२ हजार ४ सय रुपैया दान गरिएको छ । भुमिदानका लागि मेजर बीरसिंह गुरुङको छोरा लोकबहादुर गुरुङ तथा परिवारका तर्फबाट २५ लाख ११ हजार १११ रुपैया, समितिका संरक्षक साङ्पा रिम्पोछेले २० लाख, काँहु घर भई हाल अमेरिका निवासी क्याप्टेन एकबहादुर गुरुङ, जेठा छोराबुहारी सुवास गुरुङ, बन्दना गुरुङ, कान्छा छोरा बुहारी आदर्श गुरुङ, रिना गुरुङको तर्फबाट १८ लाख ९१ हजार ८९०, काँहु घर भई युके निवासी हेमबहादुर गुरुङको परिवारबाट १७ लाख ८१ हजार ४२१ रुपैया सहयोग गर्नुभएको हो ।

यसरी नै काहुकोटका स्वर्गीय ससुराम गुरुङका छोराहरुबाट १५ लाख रुपैया भुमिदानका लागि सहयोगको घोषणा गरिएको थियो । ससुरामको जेठा छोरा हाल युके निवासी लेप्टिनेण्ट गोविन्द गुरुङ १३ लाख, उहाँका दुइ छोरा विक्रम र विकासबाट १ लाख सहयोग गर्नुभयो । करिब ५ अरबको लगानीमा निर्माण हुने मण्डलाको भुमिदानका लागि अरु करिब एक करोड संकलन भएको मण्डलाका संरक्षक साङ्पा रिम्पोछेले बताउनुभयो भने २५ लाख ११ हजार १११ रुपैया दान घोषणा गर्नुभएका समाजसेवी लोकबहादुर गुरुङले आफुले अझै सहयोग घोषणा बाँकी रहेको बताउनुभयो ।

काँहुडाडामा आयोजित भुमिदान कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन एवं भुमिदान दाताहरुलाई सम्मानपत्र र खादाद्धारा प्रमुख अतिथि साङपा रिम्पोछेले सम्मान गर्नुभएको थियो भने उहाँले मन्तव्य व्यक्त गर्नुहुदै शान्तिको सन्देश फैलाउन, बुद्धको सन्देस फिजाउन, नेपालकै पर्यटनको केन्द्र स्थापित गर्न र यस क्षेत्रका नागरिकलाई सकरात्मक सोंचको विकास गराउन काहुँडाडामा अग्लो बुद्धको मुर्तिसहितको मण्डला बन्छ, बन्छ भन्नुभयो । विश्वको सबै भन्दा अग्लो बुद्धको मुर्ति बनाउनका लागि नभई पोखराको सबै र्ठाँउबाट देखिने मुर्ति बनाइने छ, त्यो ६० भन्दा माथि ९० मिटर सम्मको हुन सक्ने उहाँको भनाई थियो ।

काहुडाडामा निर्माण हुने बुद्ध मण्डलामा करिब ८० मिटर उचाईको बुद्धको विशाल मुर्तिका साथै ध्यान केन्द्र, अध्ययन अनुसन्धान केन्द्र, संग्रहालय, बाटिकाहरु, पार्क लगायत निर्माण गरिने पाँच वर्षिय योजना रहेको समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...