पोखराको छोरेपाटनको डुवान नियन्त्रणका लागि एक करोड निकासा

पोखरा, ५ माघ /अविरल वर्षाको कारण डुवानमा पर्दे आएको पोखरा १७ छोरेपाटनका लागि सरकारले १ करोड रुपैया निकासा गरेको छ । पोखराको छोरेपाटनको डुवान नियन्त्रण र विजयपुर खोलाको बाढी नियन्त्रण गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको अर्थमन्त्रीका प्रेस विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए । मंगलबार अर्थमन्त्री कृष्णबहादुर महराले दुवै परियोजनाका लागि एक¬–एक करोड रुपैयाँ स्वीकृत गरेको उनले जानकारी दिए ।

वर्षाको समयमा भलबाढीका कारण छोरेपाटनको माथिल्लो भाग डुवानमा पर्दै आएको छ । विजयपुर खोलामा वर्षाको समयमा आउने बाढीले स्थानीयबासी पीडित बनेका थिए । अर्थमन्त्रालयबाट बजेट स्वीकृत भएपछि दुवै क्षेत्रका स्थानीयबासी लाभान्वित हुने विश्वास गरिएको छ ।

दुवै परियोजनाका लागि कास्की जिविसले स्थानीय विकास मन्त्रालयमा बजेट माग गरेको थियो । स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेपछि अर्थले बजेट निकासा गरेको हो । बाढी नियन्त्रण गर्न सकेमा दुवै स्थानका स्थानीय बासी लाभान्वित हुनेमा आफू विश्वस्त रहेकाले आफ्नो तर्फबाट पहल गरेको पौडेलले बताए ।

छोरेपाटनको रानी वन मुनिको क्षेत्रमा जग्गा प्लटिङ गर्दा पानीको निकास बुझिदा वर्षा याममा ताल पर्ने गरेको छ । पानीको निकास नहुदा झण्डै २० घर डुवानमा पर्ने गरेका छन् । पौडेलले पानीको निकास बनाउनका लागि सो रकम खर्च गरिने बताए ।

कमेन्टहरु
Loading...