पोखरामा केबल टिभि र इन्टरनेट भित्र्याउने भक्त बहादुरको निधन

पोखरा ३ माघ / पोखरामा केबल टिभि र इन्टरनेट भित्रयाउने भक्त बहादुर क्षेत्रीको निधन भएको छ । बिबिसि उपनामले समेत चिनिने भक्त बहादुर क्षेत्रीको ७३ बर्षको उमेरमा आईतवार निधन भएको हो ।

फोक्सोको रोगबाट पिडीत उनको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । उनको सोमवार पोखराको सेती किनार स्थित तुलसीघाटमा अन्त्यष्टि गरिएको छ । उनको अन्त्यष्टिमा पोखराको विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो । उनलाई जेठा छोरा देव क्षेत्रीले दागबत्ती दिएका हुन् ।

वि सं २००० मंसिर १४ गते आसामको सिलोङमा जन्मिएका क्षेत्रीको पुख्यौली थलो काभ्रे भएपनि पोखरामै जीवन बिताएका थिए । पोखरामा प्रविधि भित्र्याउन उनको योगदान अतुलनिय छ । उनले पहिलो पटक पोखरामा केवल टिभीको सुरुवात गर्नुको साथै इन्टरनेट सेवाको सुरुवात गरेका थिए ।

पोखरामा रेडियोको मर्मत तथा व्यापार, टाइपशाला तथा कम्प्युटर उनकै पहलमा भित्रिएको थियो । नेपाल केवल टिभी एसोसिएसनका केन्द्रीय अध्यक्ष भइसकेका क्षेत्री बिसी केबुलको अध्यक्ष, माछापुच्छ्रे एफएम र गोल्डेन आइ टेलिभिजनका संस्थापक हुन् ।

उनको पत्नी कमला क्षेत्री र तीन छोराहरु छन् । जेठा छोरा देव क्षेत्री पोखरा उद्योग बाणिज्य संघको निवर्तमान प्रथम उपाध्यक्ष हुन् । अर्का छोराहरु शिशिर र बसन्त पनि पोखरामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनको निधनले सम्पूर्ण पोखरेली उद्योगी ब्यवसायीलाई मर्माहित बनाएको ब्यवसायीहरुले बताएका छन् । पोखरा व्यवसायीहरु र सञ्चारकर्मीहरुले सामाजीक सञ्जालबाट पनि समबेदना व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...