आफूलाई बदनियत पूर्वक हटाएको भन्दै सुशील ज्ञवाली सर्वोच्चमा

काठमाडौं, माघ ३/आफूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएकाले भन्दै सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्ववत् अवस्थामा काम गर्न दिन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ज्ञवालीलाई हटाउने र डाक्टर​ गोविन्द राज पोखरेललाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै दायर गरिएको रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री, डा. पोखरेलाई समेत विपक्षी बनाइएको छ ।

आफूलाई गैरकानूनी र बदनियतपूर्वक हटाएको भन्दै पूर्व सिइओ ज्ञवाली सर्वोच्चमा

रिट निवेदन दायर गर्नु पर्नामा ज्ञवालीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ दफा ११, ३० मा ५ वर्षको पदावधि हुने उल्लेख भएकोले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने पत्रमा नै पाँच वर्षको लागि नियुक्त गरिएको, प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कानूनले तोकेको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्दै आएको जिकिर गरेका छन् । गएको पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टिकरण सोधिएको थियो ।

कमेन्टहरु
Loading...