लेखनाथमा खुल्यो निःशुल्क सिलाई तालिम केन्द्र

पोखरा, १२ जेठ/पोखरा लेखनाथ महानगरपालिका वडा नंं ३० डाँडानाकमा रितिका नाईजल सिलाई तालिम केन्द्र शुभारम्भ भएको छ ।  गरिव, असहाय तथा निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई सिलाई तालिम दिएर आत्म निर्भर वनाउने उद्देश्यले उक्त तालिम केन्द्र संचालनमा आएको हो ।

सोही ठाउँमा स्थायी घर भई हाल युकेमा वस्दै आएकी रितिका गुरुङले सो तालिम केन्द्र संचालनमा ल्याएकी हु्न् । फेशन डिजाईनर समेत रहेकी गुरुङले आफ्नो एकल लगानीमा तालिम केन्द्र निर्माण गरेको वताईन् । सुरुमा १० जनालाई दुई जना प्रशिक्षकको सहायताले निःशुल्क रुपमा एक वर्षको सिलाई कोर्षको तालिम दिने योजना रहेको सुनाईन् ।

“कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाई सिप सिकाएर केही आर्थिक उपार्जनमा लगाउने उदेश्यलेनै तालिम केन्द्र खोलेकी हुँ”, गुरुङले भनिन्“सुरुमा कम संख्यावाट तालिम दिन सुरु गरेपनि भविष्यमा वढाउँदै लाने सोच छ”। सहभागिहरु छनौट गर्दा न्युन आर्थिक अवस्था भएको, दलित तथा एकल महिलाहरुलाई प्राथमिकता दिने योजना रहेको वताईन्छ । यसअघि पनि गुरुङले भुकम्प गएको वेलामा गोर्खामा पुगेर पिडितहरुलाई राहत वितरण गरेकी थिईन् ।

कमेन्टहरु
Loading...