याक एट्याक माउण्टेन बाईक रेसको उपाधि वालेसलाई

पोखरा, २६ कात्तिक/ लमजुङबाट शुरु भई म्याग्दीको तातोपानीमा पुगेर टुंगिएको याक एट्याक माउण्टेन बाईक रेसको उपाधि क्यानडाका करी वालेसले जितेका छन् । लमजुङ–मनाङ–थोराङला पास (५४१६ मिटर उचाई)–मुस्ताङ–म्याग्दीसम्मको १५८ किलोमिटरको दुरी वालेसले १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने ।

उनले एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गरे । उनले पोखरामा आयोजित साइक्लिङ रेस आईभी(चौथो) को उपाधि समेत जितेका थिए । थोराङला पासमा सहभागिहरुले हाईक्याम्पदेखि पाससम्म बाईकलाई बोकेर नै उक्लिएका थिए । पासबाट मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ओरालो ओर्लिए ।

माउण्टेन बाइकिङ वल्र्डवाइडको आयोजनामा वर्षेनी सञ्चालन हुने याक एट्याक साईक्लिङमा नेपालका रोअन तामाङ दोस्रो स्थानमा आए । उनले १३ घण्टा ३१ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै नगद पाँचसय अमेरिकी डलर प्राप्त गरे । ओकेश बज्रचार्य तेस्रो स्थानमा रहँदै २ सय ५० डलर प्राप्त गरे । उनले दुरीलाई १३ घण्टा ३५ मिनेट ०१ सेकेण्डको समय लगाएर पुरा गरेका थिए ।

याक एट्याक अन्तर्गत वर्षेनी उच्च हिमाली क्षेत्रमा माउण्टेन बाईक रेस गरिदैं आएको छ । माउण्टेन बाईक रेसले नेपालको साहसिक खेलकुदको प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको छ ।

विश्वकै साहसिक साईक्लिङ कम्पिटिसनको रुपमा रहेको याक एट्याक २०१८ मा विभिन्न देशका महिला तथा पुरुष गरी २९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल माउण्टेन बाईकको संयोजनमा सञ्चालित प्रतिस्पर्धामा महिला तर्फका पुरस्कार भने करेन हिल(अष्टेलियन)ले जितिन् । उनले १७ घण्टा ५९ मिनेट २१ सेकेण्डमा पुरा गरिन् ।

उनले पुरस्कार स्वरुप १ हजार अमेरिकी डलर जितिन् । नेपालकी लक्ष्मी मगरले १९ घण्टा १८ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदै ५ सय डलर पुरस्कार प्राप्त गरिन् । नियन्के ओस्त्राले २६ घण्टा ३६ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै तेस्रो बनिन् । उनले २ सय ५० डलर पाईन् ।

यसैगरी ४०

वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नेपालका हर्क लामाले १५ घण्टा ३८ मिनेट १८ सेकेण्डमा पुरा गर्दै प्रथम भए । जोसे तेजेरिया दोस्रो र जोसे मारिया ओर्डेजन तेस्रो बने । उनीहरु दुवै बेल्जियमका हुन् । जोसेले १८ घण्टाको समयमा पुरा गर्दा अर्को जोे मारियाले १८ घण्टा ५ मिनेटको समय लगाएको माउण्टेन बाईक नेपालका प्रतिनिधि अजय पण्डित क्षत्रीले जानकारी दिए ।

५० वर्षमाथिको भेट्रान्स तर्फको प्रतिस्पर्धामा भने जर्मनीका पियरे कास्ताग्नेले १६ घण्टा २५ मिनेट ३२ सेकेण्डमा पुरा गर्दै प्रथमस्थान हासिल गरे । बेल्जियमका सर्ज भान भचलेन दोस्रो स्थानमा आए । उनले १९ घण्टा ४७ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गरेका थिए । बेल्जियमकै भिन्सेन्ट गौभर्नियर तेस्रो बने । उनले २० घण्टा १२ मिनेट १३ सेकेण्डमा पुरा गरेका थिए ।

उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेल, कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...