पोखरामा नाटक घर निर्माण तिब्र

पोखरा, २४ पुस /पोखरामा बन्न लागेको नाटक घरको काम यतिबेला धमाधम भैरहेको छ । पोखरा नागढुंगास्थित निर्माणाधिन नाटक घरको गारो लाउने काम सकिएको नाटक घर निर्माण गरिरहेको संस्था ‘यूथ क्रियशन थिएटर’ले जनाएको छ ।

‘यतिबेला गारो लाउने काम पूर्ण रुपमा सकिएको छ ।’ नाटक घर निर्माण समितिका सँयोजक सौगात पोखरेलले भने–‘अब भने छानो हाल्ने र फिनिसिङ गर्ने काम मात्र बाँकी छ ।’ हालसम्म सम्पूर्ण रुपले सहयोग रकम उठाएर नाटकघरलाई यो स्थितीसम्म ल्याएको पोखरेलले बताए । अब हुन बाँकी अरु कामका लागि पनि अरुसँग सहयोग नै मागिने संस्थाले जनाएको छ ।

हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरुबाट करिब १७ लाख रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग उपलब्ध भएको संस्थाले तथ्याङ्क देखाएको छ । कुल २५ लाख रुपैयाँ निर्माण लागत अनुमान गरिएको नाटकघरका लागि अझै ८ लाख रुपैयाँ आवश्यक रहेको ‘यूथ क्रियशन थिएटर’का अध्यक्ष कपिल शर्माले जानकारी दिए ।

‘धेरै लामो समय लिएपनि आखिर हामी हाम्रो लक्ष्य नजिक पुगिसकेका छौँ ।’ कपिलले भने–‘रंगमञ्चका लागि उर्वर मानिने पोखरामा नाटक घर निर्माण भएसँगै अझै नाट्य गतिविधि बढ्ने हामीले देखेका छौँ ।’ उनले अहिलेसम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा आवश्यक सहयोग उपलब्ध गराईदिन समेत सबैलाई आग्रह गरेका छन् ।

लामो समय सुस्ताएको पोखरेली रंगमञ्च ७० को दशकको शुरुवातसँगै ब्यूँतिएपनि नाटक देखाउने उपयुक्त हलको अभावमा यसले त्यति गति लिन सकिरहेको छैन । यो बीचमा पोखरामा थुप्रै नाटकहरु मञ्चन भएपनि दर्शकले हलको अभावमा नाटकबाट भरपुर आनन्द लिन पाईरहेका छैनन् । पोखरामा यो नाटक घर निर्माणसँगै नाट्य गतिविधिले बढावा पाउने नाट्यकर्मीहरुको विश्वास छ ।

कमेन्टहरु
Loading...