पोखरामा हुने महयात्राको तयारी अन्तिम चरणमा

पोखरा, ५ फागुन/ पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन १३ गते शुक्रबार पोखरामा आयोजना गरिने महयात्रा २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । संघले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

होटल संघ नेपाल सँगको समन्वयमा पोखराको दीपेन्द्र सभागृहमा आयोजना हुने कार्यक्रममा मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा कलाकारहरु शिबहरी पौडेल, राजाराम पौडेल, किरण केसी, मोहित आचार्य, माण्डवी त्रिपाठी लगायतका कलाकारले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुर्याइएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष बिकल तुलाचनले पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरा र यस वरपरको वातावरणलाई पर्यटनमैत्री, स्वच्छ एवम् हरियाली बनाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको कर्याक्रमका संयोजक समेत रहेका तुलाचनले सुनाए ।

कार्यक्रमका विशेष आकर्षण मह जोडी भए पनि विभिन्न नृत्य तथा संगीतका कार्यक्रम समेत सो अबसरमा समेटिने छन् । रुबीना अधिकारीको नृत्य पनि सो अवसरमा रहने छ । कार्यक्रम पश्चात् बचत हुन आएको रकमले पर्यटन प्रबद्र्धन, प्रबद्र्धनात्मक सामग्री तयार र पोखरा तथा वरपरको वातावरणलाई स्वच्छ र हरियाली बनाउन खर्च गर्ने योजना रहेको पत्रकार सम्मेलनका अवसरमा जानकारी गराइएको थियो । वातावरण संरक्षणका लागि सीड मनि संकलनका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

संघले विगतदेखि नै फेवा तालको संरक्षण, उक्त तालबाट जलकुम्भी झार हटाउने अभियान तथा निशुल्क डुंगा र कर्मचारीको व्यवस्था गरेर ताल सफाईमा निरन्तरता दिने जस्ता गतिविधि गर्दै आएको समेत सो अवसरमा जानकारी गराइएको थियो । करिब एक हजार दुई सय दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमबाट बचत हुन आउने करिव दुई लाख रुपैयाँ पोखरालाई हरियाली शहरको रुपमा विकास गर्ने र वृक्षरोपण गर्ने कार्यमा खर्च गरिने संघले जनाएको छ ।

पोखरालाई कंक्रिट जंगल हुनबाट बचाउन पोखरा उद्योग वाणिज्य संघ लगायत अन्य गैरसरकारी संस्थासँग मिलेर काम गर्ने योजनामा होटल संघ रहेको होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । मह यात्रा कार्यक्रम अवलोकन गर्नका लागि पाँच सय रुपैयाँ र एक हजार रुपैयाँ टिकट दर कायम गरिएको संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । संघका महासचिव गणेशराज पहारीले कार्यक्रमको संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...