बिग आइकनमा उत्कृष्ट १२ प्रतिस्पर्धी

पोखरा, ८ फागुन /जारी बिग आइकन अन्तरगत आइतबार उत्कृष्ट १२ जना गायन प्रतिभाहरु अघिल्लो चरणका लागि छनौट भएका छन् । उत्कृष्ट १५ प्रतिस्पर्धीमध्ये आइतबारको राउण्डमा तीन जना बाहिरिएपछि प्रतियोगिताले ‘टप १२’ राउण्डमा प्रवेश पाएको हो ।

आइतबार प्रतियोगिताबाट बाहिरिनेहरुमा राजन आलेमगर, सन्देश बिक र मनोजकुमार पुन रहेका छन् । राजन यो प्रतियोगितामा भाग लिन चितवनको पटिहानीबाट आएका हुन् । त्यस्तै सन्देश उत्कृष्ट १५ मा पर्ने सबैभन्दा कान्छो प्रतिस्पर्धी हुन् । उनी पहिलोपटक बिग आइकनमा सहभागी भएका थिए । बाहिरिने अर्का प्रतिस्पर्धी मनोजकुमार पुन अघिल्लो बिग आइकनमा सहभागी भएर उत्कृष्ट १२ सम्मकै यात्रा तय गरेका थिए ।

प्रतियोगिताबाट बाहिरिँदै गर्दा तीनै जना प्रतिस्पर्धीले बिग आइकनबाट आफुहरुले थुप्रै ज्ञान आर्जन गरेको प्रतिक्रिया दिए । उनीहरुले बिग आइकन गायन प्रतिभाहरुका लागि निकै उत्कृष्ट मञ्च भएको बताउँदै आगामी दिनमा पनि अझै बढि निखारिएर यो मञ्चमा आउने वाचा गरेका थिए ।

यो सिजन अन्तरगत अघिल्लो राउण्ड मंगलबार हुने आयोजक बिग एफएमले जनाएको छ । ‘मंगलबार हुने अडिसनबाट उत्कृष्ट १० गायन प्रतिभाहरु छनौट हुनेछन् ।’ बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘त्यसपछि प्रतियोगिता अझै बढि पेचिलो बन्दै जानेछ ।’ उत्कृष्ट १० छनौट पछि प्रत्येक राउण्डमा १÷१ जना गायन प्रतिभाहरु बाहिरिदै जानेछन् । र, यहि समयबाट प्रतियोगितामा प्रतिभाहरुलाई अगाडि बढाउन निर्णायकसँगै स्रोताको एसएमएस भोटले अधिकार राख्नेछ । उत्कृष्ट ३ प्रतिभा छनौटका लागि निर्णायकको ६० र स्रोताको एसएमएस भोटको ४० प्रतिशत अधिकार रहने एफएमले जनाएको छ ।

यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...